माथागढीमा १५ शैयाको अस्पताल संचालनको अन्तिम चरणमा

पाल्पा । माथागढी गाउँपालिकाको १५ शैयाको आधारभूत अस्पताल संचालनको अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।

२०७८ जेठ २७ गते प्राकृतिक निर्माण सेवासँग करिब १२ करोड लागतमा २०८१ जेठसम्म सक्नेगरी ठेक्का सम्झौता भएको छ । सोही अनुसार समयमै काम सम्पन्न गर्नेगरी निर्माण व्यवसायीले काम गरेको भएपनि एसिका लागि आवश्यक विद्युत क्षमता व्यवस्थापनका लागि समय लागेका कारण अस्पतालबाट सेवा सुुरु गर्न समय लागेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख केशव जिसीले जानकारी दिनुभयो । उहाँले दुई तले अस्पतालको भवनको सम्पूर्ण काम सकिएकोले सेवा शुभारम्भको अन्तिम चरणमा रहेको बताउनुभयो । जसका लागि प्रदेश सरकारले एक जना चिकित्सकसमेत पठाएको प्रमुख जिसीले जानकारी दिनुभयो ।

गाउँपालिका भित्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवाको पहुँच वृद्धिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ५, १० र १५ शैयासम्मको अस्पताल नभएका स्थानीय तहमा अस्पतालको भवन बनाउने योजना अनुसार माथागढीमा पनि भवन निर्माण कार्य भएको हो । भवन गाउँपालिकाको ४ नं. वडा झडेवाको साविक स्वास्थ्य चौकी रहेको स्थानमा ९ रोपनी क्षेत्रफलमा बनेको छ ।

अस्पतालमा नवौं तहको चिकित्सको नेतृत्वमा ३० जना स्वास्थ्यकर्मीको दरबन्दीबाट सेवा दिने छन् । आधारभूत अस्पतालबाट ओपिडी सेवा, प्रयोगशाला सेवा, एक्सरे सेवा, आयुर्वेद सेवा, दन्त उपचार सेवा, आकस्मिक सेवा, अन्तरंग सेवा (बिरामी भर्ना) र फार्मेसी सेवा उपलब्ध हुने छ । जसले गर्दा सामान्य अवस्थाका बिरामीले औषधि उपचारका लागि तानसेन तथा आसपासका ठूला अस्पतालमा जानुपर्ने अवस्थाको अन्त्य हुने गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो । उहाँले गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको समेत बताउनुभयो । अस्पतालबाट सेवा सुरु भएपछि गाउँपालिकाका झडेवा, गोठादी, हात्तिलुङ, रहवास, बहादुरपुरका सबै र कसेनीको केही भागका नागरिकलाई फाइदा पुग्ने अध्यक्ष चिदीले बताउनुभयो ।

पछिल्लो समय आधारभूत तहको स्वास्थ्य सेवा उपलब्ध गराउने जिम्मा स्थानीय सरकारमा छ । सोही अनुसार गाउँपालिकाले नागरिकलाई अनुभूति हुनेगरी स्वास्थ्य क्षेत्रमा लगानी गरिरहेको गाउँपालिका प्रवक्ता शंकर दर्लामीले बताउनुभयो ।

माथागढी गाउँपालिका अहिले भित्र ७ वटा स्वास्थ्य चौकी र ७ ओटा सामुदायिक स्वास्थ्य एकाईबाट स्वास्थ्य सेवा प्रवाह भैरहेको छ । अहिले १ नं. वडा चिदीपानी, २ नंं वडा रुप्से, ३ नं. वडा कसेनी, ७ नं. वडा रहवास र ८ नं. वडा बहादुरपुरमा सुविधा सम्पन्न भवनबाट सेवा उपलब्ध छ । यस्तै ४ नं. वडामा अस्पताल रहेको छ भने ५ र ६ नं. वडामा आफ्नै भवन नभएकोले निर्माण गर्नका लागि जग्गा व्यवस्थापनको प्रकृयामा अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय