कोलडाँडामा मगर संग्रहालय र स्वास्थ्य चौकी उद्घाटन

पाल्पा । तिनाउ गाउँपालिका–५ स्थित कोलडाँडामा मगर समुदायको इतिहास, संस्कृति र पहिचान संरक्षण गर्ने उद्देश्यले निर्माण गरिएको मगर संग्रहालय तथा नयाँ स्वास्थ्य चौकी भवनको भव्य उद्घाटन भएको छ । सोही अवसरमा वडा नं. ५ लाई बाल श्रम तथा सडक बालबालिका मुक्त वडा समेत घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्य मन्त्री तथा प्रदेशसभा सदस्य खेमबहादुर सारुले मगर संग्रहालय र स्वास्थ्य चौकी भवनको संयुक्त रूपमा उद्घाटन गर्दै कोलडाँडालाई मगर संस्कृति, स्थानीय उत्पादन र सामुदायिक आतिथ्यसँग जोडेर आकर्षक होमस्टेका रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संग्रहालयसंगै मगर संस्कृति, परम्परा र स्थानीय खानाका परिकारलाई जोडेर होमस्टे सञ्चालन गर्न सके पर्यटक आकर्षित हुने र स्थानीयको आयआर्जन तथा रोजगारी वृद्धि हुनेछ ।”

कार्यक्रमका माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले दुई पालिकाबीचको साझेदारी र सडक सञ्जाल विस्तारमा जोड दिनुभयो । उहाँले कोलडाँडा र माथागढी गाउँपालिकामा पर्ने कौडेलेकसम्मको बाटो विस्तार गर्न सके दुवै पालिकाको पर्यटन विकासमा ठूलो टेवा पुग्ने उल्लेख गर्नुभयो ।

तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले मगर समुदायको बाहुल्यता रहेकाले इतिहास र संस्कृतिको संरक्षणका लागि संग्र्रहालय निर्माण गरिएको बताउनुभयो । उहाँले नागरिकको स्वास्थ्य पहुँचका लागि आधुनिक स्वास्थ्य चौकी निर्माण गरिएको जानकारी दिँदै कोलडाँडाका कृषकहरूले हाल वार्षिक झण्डै दुई करोड रुपैयाँभन्दा बढीको तरकारी विक्री गर्न सफल भएको जानकारी गराउनुभयो । यसका साथै वडा नं. ५ लाई बाल श्रम तथा सडक बालबालिका मुक्त वडा घोषणा गरिनु गाउँपालिकाका लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै उहाँले आगामी दिनमा सम्पूर्ण तिनाउ गाउँपालिकालाई नै बालश्रम मुक्त बनाउने लक्ष्य रहेको बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले कोलडाँडालाई सडक, स्वास्थ्य, कृषि, पर्यटन र संस्कृतिको विकासमार्फत समृद्ध बस्तीका रूपमा स्थापित गर्ने गाउँपालिकाको लक्ष्य रहेको बताउनुभयो ।

कार्यक्रममा आदिवासी जनजाति महासंघ पाल्पाका अध्यक्ष गमबहादुर मगर, राष्ट्रिय आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य भूमिकुमारी बराल, तिनाउ गाउँपालिकाका पूर्व अध्यक्ष ओमबहादुर घर्तीले मगर संस्कृति संरक्षण, पर्यटन प्रवद्र्धन, स्वास्थ्य सेवा विस्तारका लागि यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभएको वडाध्यक्ष इन्द्रा चिदीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय