
पाल्पा । माथागढी गाउँपालिकाले विगत लामो समयदेखि साँधुरा संरचना र डेराका कोठाहरूबाट प्रशासनिक कार्य सञ्चालन गर्दा व्यहोर्नु परेको सास्ती अब धेरै दिन नरहने संकेत दिएको छ । माथागढी गाउँपालिका वडा नं. ४ झडेवा, चिउरेमाटीमा यतिबेला गाउँपालिकाको आफ्नै प्रशासकीय भवनको तीव्र रुपमा निर्माण कार्य भैरहेको छ । जसले स्थानीय नागरिकका आँखाहरूमा सुलभ र एकीकृत सेवा पाउने सपना समेत जगाएको छ । निर्माण कार्य सुरु भएको छोटो अवधिमै कामले लिएको गति साँच्चै नै उदाहरणीय देखिएको छ ।
निर्माण सुरु भएको करिब १४ महिनाको छोटो समयावधिमा यस भवनको भौतिक प्रगति ६० प्रतिशत पुगिसकेको छ । गाउँपालिकाले भवन निर्माणका लागि २०८२ साल चैत्र २२ गते काठमाडौँको नेरिसा–जेसिका–साहिल जे.भि. सँग ठेक्का सम्झौता गरेको थियो । मूल्य समायोजन बाहेक र मूल्य अभिवृद्धि कर सहित कुल ६ करोड ७६ लाख ८५ हजार ४ सय ८८ रुपैयाँ ८५ पैसाको लागतमा ठेकेदार कम्पनीसँग सम्झौता भएको गाउँपालिकाका इन्जिनियर धर्मेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।
स्थानीय मनकारी विष्णुकुमारी जिसीले ४ रोपनी, स्यामबहादुर जिसीले ३ रोपनी र मीनाकुमारी जिसीले १ रोपनी ८ आना १ पैसा जग्गा चिउरेमाटीमा गाउँपालिकालाई निशुल्क उपलब्ध गराउनुभयो । दानमा प्राप्त कुल ८ रोपनी ८ आना १ पैसा जग्गामा आवश्यक कानुनी सम्पूर्ण प्रक्रिया पूरा गरी गौरवको यो भवन निर्माण कार्य अगाडि बढाइएको हो । दाताहरूको यो अतुलनीय योगदानकै जगमा ठडिएको भवनको हालसम्म करिब ५२ प्रतिशत कुल वित्तीय प्रगति भइसकेको गाउँपालिकाको तथ्याङ्क छ।
“आफ्नै प्रशासकीय भवन नहुँदा सेवा प्रदायक र सेवाग्राहीहरूलाई कार्यसम्पादनमा ठूलो समस्या हुँदै आएको थियो,“ माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी आफ्नो विगतको अनुभव सुनाउनुहुन्छ । “फरक–फरक स्थान र कोठाहरूबाट सेवा प्रवाह गर्दा सेवाग्राहीले निकै सास्ती पाउनुभएको थियो भने पालिकालाई पनि छुट्टाछुट्टै कार्यालयहरू व्यवस्थापन गर्दा खर्चको भार निकै बढेको थियो ।“ यही प्रशासनिक र व्यावहारिक कठिनाइलाई मध्यनजर गर्दै गाउँपालिकाले नयाँ भवन निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढाएको अध्यक्ष चिदीले भनाइ छ । यो भवन पूर्ण रूपमा निर्माण भइसकेपछि एउटै छानोमुनिबाट एकीकृत सेवा प्रवाह हुने र यसले सेवा प्रदायक कर्मचारी तथा सेवा लिन आउने सर्वसाधारण नागरिक दुवैलाई निकै सहज तुल्याउने विश्वास उहाँको छ ।
बन्दै गरेको यो नयाँ प्रशासकीय भवन आधुनिक, अपाङ्गमैत्री, बालमैत्री र पूर्ण रूपमा भूकम्प प्रतिरोधी हुनेछ । इन्जिनियर धर्मेन्द्रकुमार यादवका अनुसार यस भवनमा व्यवस्थित पार्किङको सुविधा रहनेछ भने ठूला सभा–समारोहका लागि ३ सय जना अट्ने क्षमताको एउटा भव्य सभा हल र साना–ठूला गरी जम्मा ५५ वटा कोठाहरू निर्माण हुनेछन्। प्रशासनिक कार्यलाई सहज बनाउन स्टोर, व्यवस्थित शौचालय र एउटा चमेनागृह समेत भवनभित्रै निर्माण भइरहेको छ । इन्जिनियर यादवले भवनको तेस्रो तल्लाको ढलानको काम सफलतापूर्वक सम्पन्न भइसकेको र हाल द्रुत गतिमा प्लास्टरको काम भइरहेको जानकारी दिनुभयो ।
सम्झौता अनुसार आगामी २०८३ साल चैत्र २२ गतेभित्र निर्माण व्यवसायीले यो भवन पूर्ण रूपमा सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गरिसक्नुपर्ने कानुनी सीमा छ । समयमै र तोकिएकै गुणस्तरमा निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता ठेकेदार कम्पनी नेरिसा–जेसिका–साहिल जे.भिका प्रतिनिधिहरूले पनि जनाएका छन् ।
गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले निर्माण व्यवसायीलाई अहिले सम्म ३ करोड ५४ लाख १० हजार रुपैयाँ भुक्तानी गरिसकिएको जानकारी दिनुभयो । उहाँले बजेट अभाव नभएको खण्डमा तोकिएको समयभित्रै भवन सम्पन्न गराउनका लागि गाउँपालिकाले निर्माण कम्पनीलाई आवश्यक सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सहयोग निरन्तर उपलब्ध गराउँदै आएको बताउनुभयो । यस ऐतिहासिक भवन निर्माणको कुल लागत साझेदारीमा आधारित छ, जसमा ६० प्रतिशत स्थानीय पूर्वाधार विभागले बेहोरेको छ भने बाँकी ४० प्रतिशत रकम माथागढी गाउँपालिका आफैँले व्यहोरेको छ ।








