मिडिया संरक्षणमा स्थानीय तहको प्रतिबद्धता

पाल्पा । स्थानीय मिडियाको संरक्षणमा स्थानीय तहहरु प्रतिबद्ध रहेको जनाएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आयोजना गरेको ‘स्थानीय विकास र सञ्चार सबलीकरण’ विषयक अन्तरक्रियामा सहभागीले स्थानीय तह र आमसञ्चार माध्यमबीच आपसी समन्वय, सहकार्य र सबलीकरण बढाउँदै सुशासन, पारदर्शिता र जवाफदेहिता प्रवद्र्धन गर्ने जनाएका हुन ।

नागरिकलाई सही, विश्वसनीय र समयमै सूचना उपलब्ध गराउने तथा लोकतान्त्रिक मूल्य, मानव अधिकार र प्रेस स्वतन्त्रताको सम्मान गर्दै दुष्प्रचार नियन्त्रणका लागि एक आपसमा समन्वय गर्ने वातावरण निर्माणका लागि अन्तरक्रिया कार्यक्रम गरिएको महासंघका अध्यक्ष कमलराज तिमिल्सेनाले बताउनुभयो । उहाँले स्थानीय तहले आफ्नो उपलब्ध स्रोत र साधनको परिधिभित्र रही स्थानीय मिडियालाई प्राथमिकताका साथ विज्ञापन, सूचना तथा सार्वजनिक सन्देश उपलब्ध गराउने विषयमा छलफल भएको बताउनुभयो । यसका साथै, नेपाल पत्रकार महासंघ पाल्पासँगको समन्वयमा स्थानीय तहले सञ्चार नीति बनाउने प्रतिबद्धता समेत व्यक्त भएको अध्यक्ष तिमिल्सेनाले बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले केन्द्र सरकारको निर्णयले जिल्लाका अधिकांश मिडियाहरू संकटमा पर्दै गएको तर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले लोकतन्त्र बचाउन पनि मिडिया बाँच्नुपर्ने आवश्यकता रहेकाले स्थानीय तहले सोही अनुसारको नीति नियम बनाएर सहकार्य गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

यस्तै बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी दर्लामी, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी र पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापालगायतले केन्द्रको परिपत्र प्रेस स्वतन्त्रताको विपक्षमा रहेको टिप्पणी गर्नुभयो । स्थानीय मिडियाको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएकाले अब सञ्चार नीति बनाएरै अगाडि बढ्ने उहाँहरूले प्रतिबद्धता जनाउनुभयो । तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले केन्द्रको परिपत्र कार्यान्वयन गर्न आफूहरू बाध्य भए पनि स्थानीय सरकारले सञ्चार नीति बनाएर दिएमा त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष रेखीराम रानाले स्थानीय तह र मिडियाको अवस्था, पत्रकार आचारसंहिता तथा पालिकाहरूले निर्माण गर्नुपर्ने सञ्चार नीतिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको महासंघका सचिव रामचन्द्र रायमाझीले जानकारी दिनुभयो । करूवा पत्रिकाबाट

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय