कसेनीमा सीपबाट समृद्धि खोज्दै छौं : वडाध्यक्ष घर्तीमगर

पाल्पा । माथागढी गाउँपालिका ३ नं. वडाका वडाध्यक्ष तेजबहादुर घर्तीमगरले सीपबाट समृद्धिको यात्र सुरु गरिएको बताउनुभएको छ । सोही अनुसार फुर्सदिला युवालाई आवश्यक सीप सिकाएर स्वरोजगार बनाउने कामलाई प्राथमिकताका साथ अगाडि बढाउनुभएको उहाँले बताउनुभयो । जसले गर्दा वडा कार्यालयले ‘सिक्ने र कमाउने’ अभियानलाई तीव्रता दिएको छ । नागरिक सीपमूलक तालिम लिएर स्वरोजगार भई आर्यआर्जन सुरु गर्न थालेका छन् । सीमित स्रोत र साधनका बावजुद नागरिकलाई दक्ष बनाउन विभिन्न निकायसंगको समन्वयमा सीपमूलक तालिम चलाइएको वडाध्यक्ष घर्तीमगरले बताउनुभयो ।

माथागढी गाउँपालिकाले नागरिकको आर्थिक जीवनस्तर उकास्न परम्परागत खेतीपाती र मजदुरीको विकल्पमा सीपमूलक तालिम र व्यवसायिकतालाई प्राथमिकतामा राखेको बताउदै विशेषगरी वडा नं. ३ ले उत्साहजनक ढंगले विभिन्न विधाका तालिमहरू सञ्चालन गरेको वडाध्यक्ष घर्तीमगरको भनाइ छ । चालु आर्थिक वर्षमा मात्रै यहाँका २० जनाले बेमौसमी तरकारी खेती, २० जनाले सीटीईभीटी लेभल–१ को व्युटिपार्लर र २० जनाले मिनी टिलर मर्मतको तालिम लिइरहेका छन् । त्यति मात्र होइन, २० जनाले बाटेको धुप बनाउने, २० जनाले साबुन तथा सरफ उत्पादन गर्ने र ४० जनाले कम्प्युटर हार्डवेयरको विशेष तालिम प्राप्त गरिरहेका छन् । आधुनिक बजारको मागलाई ध्यान दिँदै १० जनालाई कफी बनाउने (ब्यारिस्टा) दिइएको छ भने ७६ जनालाई सवारी चालक तालिम दिने योजना वडा कार्यालयको छ ।

वडाध्यक्ष घर्तीमगर भन्नुहुन्छः “हाम्रो मुख्य उद्देश्य भनेकै स्वरोजगार सिर्जना गरी आर्थिक समृद्धि हासिल गर्नु हो । तालिम लिनु ठूलो कुरा होइन, त्यसलाई व्यवहारमा उतार्नु चुनौती हो । हामीले लक्षित वर्गको पहिचान गरी गाउँपालिका र विभिन्न संघसंस्थासँगको समन्वयमा यी कार्यक्रम अगाडि बढाएका छौं । गत वर्ष पनि हामीले कपाल काट्ने, व्युटिपार्लर, जैविक विषादी बनाउने र हाउस वाइरिङ जस्ता तालिम दिएका थियौँ, जसको प्रभाव अहिले गाउँमा देखिन थालेको छ ।“ तालिम लिएका धेरैजसो नागरिकले अहिले व्यावसायिक रूपमा काम सुरु गरिसकेका छन्

गाउँपालिकाको यो अभियानमा प्रशासनिक नेतृत्वको पनि उत्तिकै साथ छ । गाउँपालिका प्रवक्ता शंकर दर्लामीले सीपलाई उत्पादनसँग जोड्नुपर्नेमा जोड दिनुहुन्छ । उहाँका अनुसार गाउँपालिकाले केवल बजेट खर्च गर्नका लागि मात्र तालिम नभई, बजारको माग र स्थानीयको रुचि अनुसारका विषय छनोट गरेको छ ।

माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले नागरिकलाई सीपयुक्त बनाउनु नै पालिकाको मुख्य प्राथमिकता रहेको बताउनुहुन्छ । “हामीसँग स्रोत साधन सीमित छन्, तर आवश्यकता र रुचिका आधारमा योजनाबद्ध काम गरिरहेका छौं । नागरिकलाई स्वरोजगार बनाएर वैदेशिक रोजगारीको निर्भरता घटाउने हाम्रो लक्ष्य हो,“ अध्यक्ष चिदी भन्नुभयो ।

अहिले माथागढीका टोलटोलमा सीप सिक्नेहरूको उत्साह लोभलाग्दो छ । तालिम लिइरहेका सहभागीहरूका अनुसार पहिले सामान्य कामका लागि पनि अरूको भर पर्नुपर्ने अवस्था थियो, तर अहिले आफ्नै हातमा सीप भएपछि आर्थिक लाभ लिन सहज भएको छ । बजारमा दक्ष जनशक्तिको अभाव भइरहेका बेला यी तालिमहरूले स्थानीय युवाहरूलाई काम पाउन र स्वरोजगार बन्न ठूलो मद्दत पु¥याएको छ । यसरी वडा नं. ३ को सक्रियता र गाउँपालिकाको अभिभावकत्वले माथागढीमा समृद्धिको जग बसाल्ने काम गरिरहेको छ । सीपलाई श्रम र श्रमलाई दामसँग जोड्ने यो सानो प्रयासले भोलि सिंगो गाउँपालिकाकै आर्थिक स्वरूप बदल्ने निश्चित देखिन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय