
पाल्पा । रब्दीकोट गाउँपालिकामा सञ्चालित “गाउँपालिका स्तरीय अध्यक्ष तथा उपाध्यक्ष कप भलिबल तथा क्रिकेट प्रतियोगिता “ सम्पन्न भएको छ । गाउँपालिकाभित्र खेलकुदको विकास, युवाहरूमा खेलप्रतिको आकर्षण वृद्धि तथा आपसी सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यका साथ जेठ १८ गतेदेखि २० गतेसम्म गाउँपालिकाको वडा नं. ७ स्थित डबका खेलमैदानमा प्रतियोगिता चलेको हो ।
प्रतियोगितामा रिब्दीकोट गाउँपालिका भित्रका ८ पुरुष भलिबल टोली, ७ महिला भलिबल टोली र ५ क्रिकेट टोलीको सहभागिता रहेको थियो । जसमा महिला भलिबलतर्फ वडा नं. ८ को समूह प्रथम स्थान हासिल गरेको छ भने वडा नं. ६ को समूह द्वितीय र वडा नं. २ को समूह तृतीय भएको छ । त्यसैगरी पुरुष भलिबलतर्फ वडा नं. २ को समूह प्रथम वडा नं. ६ को समूह द्वितीय र वडा नं. ४ को समूह तृतीय हुन सफल भएको छ । यस्तैगरी पुरुष क्रिकेटतर्फ वडा नं. १ को समूह प्रथम र वडा नं. ४ को समूह द्वितीय स्थान हासिल गरेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः नगद रु. २५ हजार, २० हजार र १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिता समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले युवाहरूको प्रतिभा प्रस्फुटन र शारीरिक तथा मानसिक विकासका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि पालिकाले खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको वृत्तिविकासका लागि बजेट तथा कार्यक्रममा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले प्रतियोगिताले वडा–वडाबीच आपसी सद्भाव र भाइचारा बढाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले महिला तथा पुरुष खेलाडीहरूले मैदानमा देखाएको अनुशासन र खेल कौशलको प्रशंसा गर्दै खेलकुदले युवाहरूलाई सकारात्मक मार्गमा लाग्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिका युवा तथा खेलकुद विकास समितिका संयोजक दिपक थापा पचभैयाले गाउँपालिकाभित्र रहेका प्रतिभावान खेलाडीको पहिचान, क्षमता विकास र खेल संस्कृतिको विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख राजाराम भाटले भलिबल र क्रिकेट प्रतियोगितामा वडाहरूबीच उत्साहजनक सहभागिता रहेको बताउँदै यस्ता प्रतियोगिताले स्थानीय स्तरमै खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।







