शिक्षित २७ बुहारीलाई निस्दीको सम्मान

पाल्पा । बालविवाह न्यूनीकरण र महिला शिक्षा प्रवद्र्धन गर्ने उद्देश्यसहित निस्दी गाउँपालिकाले शिक्षित २७ बुहारीलाई सम्मान गरेको छ । गाउँपालिकाले २० वर्ष उमेर पूरा गरी कम्तीमा कक्षा १२ उत्तीर्ण गरेपछि विवाह गर्ने नवविवाहित महिलालाई नगदसहित सम्मान गरेको हो ।

आर्थिक वर्ष २०८१ साउन १ गतेदेखि २०८२ वैशाख मसान्तसम्म निस्दी गाउँपालिकाभित्र स्थायी बसोबास गरी निर्धारित मापदण्ड पूरा गरेर विवाह गरेका महिलाहरूलाई लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रा गहतराजले जनही पाँच हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो । सम्मानका लागि सम्बन्धित महिलाहरूबाट नागरिकता, कक्षा १२ उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र तथा विवाह दर्ताको प्रतिलिपि संकलन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बालविवाह न्यूनीकरण र महिला शिक्षाको प्रवद्र्धनका लागि गाउँपालिकाले सुरु गरेको सम्मान कार्यक्रमले सकारात्मक प्रभाव पारेका बताउनुभयो । शिक्षित भएर कानुनी उमेर पुगेपछि मात्र विवाह गर्ने संस्कृतिको विकास हुँदै गएको उहाँको भनाइ छ । विगतको तुलनामा बालविवाहको संख्या उल्लेखनीय रूपमा घट्नु यस अभियानको महत्वपूर्ण उपलब्धि हो । गाउँपालिकाले आगामी दिनमा पनि महिला शिक्षा, बालअधिकार संरक्षण र बालविवाह अन्त्यका लागि यस्ता प्रोत्साहनमूलक कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष सारुले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष तीरनकुमारी श्रेष्ठका अनुसार निस्दीमा बालविवाहको दर उल्लेखनीय रूपमा घट्दै गएको छ । आर्थिक वर्ष २०७९ सम्म २ सय ७६ जोडी बालविवाहमा बाँधिएको तथ्यांक रहेकोमा चालु आर्थिक वर्षमा यो संख्या घटेर सात जोडीमा सीमित भएको छ । उमेर नपुगी विवाह गरेका ती जोडीलाई समेत पालिकाको पहलमा सम्झाइबुझाइ गरी घर फर्काइएको उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर चितौरेले पालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने लक्ष्यका साथ विभिन्न सचेतनामूलक र प्रोत्साहनात्मक कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । उहाँका अनुसार सम्मान कार्यक्रमका लागि एक महिनाअघि नै सार्वजनिक सूचना जारी गरी वडामार्फत आवेदन संकलन गरिएको थियो । सोही अवसरमा आधारभूत तह, एसईई र कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत चितौरेको भनाइ छ ।

बालअधिकार अधिकृत कुस्माखर पाण्डेयले गत वर्ष स्नातकोत्तर तह उत्तीर्ण गर्ने एक जना महिला तथा अदुवा र सिमी निर्यातमार्फत उद्यमशीलतामा उल्लेखनीय योगदान पु¥याएको गल्धा सामाजिक उद्यमी महिला सहकारीलाई पनि सम्मान गरिएको जानकारी दिनुभयो । उहाँले महिलाहरूलाई उच्च शिक्षातर्फ आकर्षित गर्न र बालविवाहविरुद्ध सामाजिक चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनुभयो ।

गाउँपालिकाका प्रवक्ता मेखबहादुर सुनारीले शिक्षित बुहारीलाई सम्मान गर्ने अभियानले बालमैत्री गाउँपालिका घोषणाको लक्ष्य पूरा गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । महिला तथा बालबालिका लक्षित कार्यक्रमहरूको सकारात्मक प्रभावका कारण गाउँमा बालविवाह घट्दै गएको र चालु आर्थिक वर्षभित्रै निस्दीलाई बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

(मिति २०८३ जेठ २१ गते करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित समाचार)

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय