
पाल्पा । योग साधनाले कार्यक्षमता बढाउने रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभएको छ । कार्यसम्पादनको मानसिक तनावलाई भुलेर सकारात्मक ऊर्जाका साथ नागरिक सेवामा समर्पित हुन गाउँपालिकाले आयोजना गरेको दुई दिने ‘तनाव विसर्जन योग साधना तथा जीवन जिउने व्यावहारिक सूत्र’ शिविरमा उहाँले यस्तो बताउनुभएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा ऐतिहासिक जलेश्वर मन्दिरको प्राङ्गणमा जनप्रतिनिधि, कर्मचारी र स्थानीय अगुवाहरूका लागि विशेष ध्यान शिविर कार्यक्रम सञ्चालन गरेको हो ।
व्यस्त दैनिकीका बीच आयोजना गरिएको शिविरमा जनप्रतिनिधि र कर्मचारीहरूले तनाव कम गर्दै उच्चतम खुसीका साथ काम गर्ने कला सिकेका छन् । दुई दिनसम्म चलेको सघन शिविरमा जीवन विज्ञान र खुसी विज्ञानका प्रख्यात प्रशिक्षकहरू भानु गुरु, रमेश गुरुदेव, मोतिमा भुषाल र उदयराज अधिकारीले सहजीकरण गर्नुभएको थियो । प्रशिक्षकहरूले प्रकृतिसँग एकाकार भएर आफ्नो भित्री चेतना ब्युँझाउने र न्यूनतम तनावका साथ उच्चतम कार्यक्षमता प्रदर्शन गर्ने व्यावहारिक मार्गदर्शन गराउनुभएको गाउँपालिकाले जनाएको छ ।
शिविरमा आफ्नो अनुभव साट्दै गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले थप्नुभयो, “अध्यात्म र प्रकृतिलाई कार्यक्षेत्रसँग जोडेर गाउँपालिकाले चालेको यो कदमले जनप्रतिनिधि र कर्मचारीको कार्यक्षमतामा वृद्धि ल्याउनेछ । यसले नागरिक सेवालाई अझ बढी जिम्मेवार, आत्मीय र नम्र बनाउने हाम्रो विश्वास छ ।“
त्यस्तै, गाउँपालिकाकी उपाध्यक्ष कान्ता अधिकारीले भन्नुभयो, “दिनहूँको कार्यबोझले पैदा गर्ने मानसिक थकान मेटाउन यो साधना निकै फलदायी रह्यो । यसले हामीमा नयाँ ऊर्जा र उमङ्ग थपेको छ ।“
प्रमुख प्रशासकीय अधिकृत सुुरेश भुसालले भन्नुभयो, “तनावमुक्त कार्यवातावरणले मात्रै उत्कृष्ट नतिजा दिन सक्छ । यो शिविरले कर्मचारी साथीहरूमा सकारात्मक सोच र कार्यकुशलता बढाउन ठूलो मद्दत पु¥याएको छ ।“
जलेश्वर मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, विभिन्न वडाका वडा अध्यक्षहरू तथा स्थानीय नागरिकहरूको सक्रिय सहभागिता रहेको शिविरले सकारात्मक सन्देश प्रवाह गरेको छ । अध्यात्मले मानिसमा अहंकार र स्वार्थलाई पगालेर प्रेम र करुणा जगाउने हुँदा, यो साधनाले जनप्रतिनिधि र कर्मचारीमा जनताप्रति अझ बढी उत्तरदायी बन्ने आध्यात्मिक चेतना भरेको गाउँपालिकाले जनाएको छ ।
( मिति २०८३ जेठ १८ गते सोमबार करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित समाचार)







