रम्भामा लोकल कुखुरा पालन तालिम सम्पन्न

पाल्पा । रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङ्गकोटमा सञ्चालित लोकल कुखुरा पालन सम्बन्धी तालिम सम्पन्न भएको छ । रानीबास सामुदायिक होमस्टेमा सञ्चालन गरिएको तालिममा रानीबास क्षेत्रका ४१ जना व्यावसायिक कुखुरा पालक कृषकहरूको सहभागिता रहेको थियो । रम्भा गाउँपालिकाको आर्थिक सहयोगमा कृषकहरूको रैथाने उत्पादन क्षमता बढाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले स्थानीय स्तरमा परम्परागत रूपमा भइरहेको कुखुरा पालनलाई प्रविधिसँग जोड्न तालिम कोेसेढुङ्गा साबित भएको बताउनुभयो । तालिमको दीर्घकालीन फाइदा रहेको बताउदै उहाँले भन्नुभयोः “हाम्रो मुख्य लक्ष्य नै पालिकाबासीलाई आत्मनिर्भर बनाउनु हो । यस क्षेत्रमा स्थानीय जातको कुखुरा र अण्डा उत्पादन बढाएर कृषकहरूको आयआर्जनमा ठोस वृद्धि पु¥याउनेछ । कृषि र पशुपालन नै समृद्ध रम्भाको आधार हो ।“

तालिममा जिल्ला समन्वय समितिका सदस्य भोवीसरा सारुले सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले रैथाने जातका कुखुराको वंश वृद्धि र विकासका लागि यो तालिम अत्यन्त लाभदायक रहेको बताउनुभयो । उहाँले सीपलाई कोठामै सीमित नराखी व्यवहारमा उतारेर आफ्नो आर्थिक अवस्था सुधार्न कृषकहरूलाई आग्रह गनुृभयो ।

तालिममा कुखुरा पालनका आधुनिक तथा व्यावहारिक विधि, यसबाट लिन सकिने आर्थिक फाइदा, सम्भावित रोगहरूको पहिचान र तिनीहरूको रोकथाम, आहारा व्यवस्थापन, वैज्ञानिक ढंगले अण्डा संकलन तथा चल्ला हुर्काउने प्राविधिक विषयहरूमा भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख वरिष्ठ पशु चिकित्सक दुर्गाप्रसाद खनाल र प्राविधिक अधिकृत विश्वनाथ भट्टराईले सहजीकरण गर्नुभएको थियो । उहाँहरुले सहभागी कृषकहरूको उत्साहलाई प्रसंशा गर्दै लोकल कुखुराको चल्ला हुर्काउने र अण्डा संकलन गर्ने सही विधि अपनाउँदा उत्पादनमा सोझै सुधार आउँने र रोगको समयमै पहिचान र सही आहारा व्यवस्थापन गर्न सके कृषकहरूले कम लागतमा धेरै नाफा कमाउन सक्ने बताउनुभयो ।

गाउँपालिका पशु विकास शाखाका प्रमुख मिनबहादुर कार्कीका अनुसार गाउँपालिकाले फोक्सिङ्गकोटलाई ’लोकल कुखुरा पकेट क्षेत्र’ का रुपमा विकास गर्ने दीर्घकालीन योजना तय गरेको छ । यस तालिमले उक्त पकेट क्षेत्र विकास कार्यक्रमलाई सफल बनाउन जगको काम गर्ने उहाँले विश्वास लिइएको बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय