
पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी असोज (सेप्टेम्बर) भित्रै सवारीसाधन सञ्चालनमा ल्याउने गरी तयारी तीव्र पारिएको आयोजनाले जनाएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको आयोजनाको हालसम्म ७० प्रतिशत भौतिक र ५८ प्रतिशत वित्तीय प्रगति हासिल भएको आयोजनाका प्रमुख नवराज बास्तोलाले बताउनुभयो । उहाँका अनुसार हाल मुख्य सुरुङमार्गको सिभिलतर्फको काम पूरा भई विद्युतीकरण र प्रवेशद्वार निर्माणको काम भइरहेको छ । विद्युत् जडान सम्पन्न भएलगत्तै आगामी असोजको पहिलो वा दोस्रो साताभित्रै सुरुङमार्गबाट सवारीसाधनको आवतजावत सुरु गरिने योजना छ । सुरुङभित्रबाट यातायात सञ्चालन भएपछि मात्रै साँघुरो र अप्ठ्यारो रहेको बाहिरी सडकको स्तरोन्नति, बाइपास सुरुङ, रक सेट र स्लोप निर्माणका कामहरू अगाडि बढाइने प्रमुख बास्तोलाको भनाइ छ ।
नेपालको सडक पूर्वाधारमा पहिलो पटक प्रयोग गरिएको ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (इपिसी) मोडल अन्तर्गत यो सुरुङमार्ग निर्माण भइरहेको हो । यस मोडलमा डिजाइनदेखि निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीको हुन्छ । पाँच वर्षको निर्माण अवधि तोकिएर २०७८ साल फागुनमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग यसको ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण सम्पन्न भएपछिको पाँच वर्षसम्म सम्बन्धित ठेकेदार कम्पनीले नै सुरुङको सञ्चालन, मर्मतसम्भार र सुरक्षाको जिम्मा लिनुपर्ने छ भने त्यसपछि थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ (डिएलपी) लागू हुने व्यवस्था छ ।
नयाँ प्रविधिको इपिसी मोडलका कारण डकुमेन्टेसनमा समस्या, रूख कटानको अनुमतिमा ढिलाइ, बजेट व्यवस्थापन तथा २०७९ साउनमा झरेको पहिरोले सुरुङको दुवैतर्फको पोर्टलमा पु¥याएको क्षतिका कारण निर्माण कार्य झन्डै एक वर्ष ढिलो गरी मात्र सुरु हुन सकेको थियो । २०८१ माघ ११ गते सुरुङमार्गको ‘ब्रेक थ्रु’ हुँदा ४० प्रतिशत काम सकिएकोमा त्यसयताका १५ महिनामा थप २८ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । निर्माण कम्पनीले २०८३ चैत मसान्तभित्र आयोजना सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि सुरुवाती चरणको ढिलाइ सच्याउन म्याद थप तथा माइल स्टोन समायोजनको प्रक्रिया अगाडि बढाइएको छ । १ हजार १२६ मिटर लामो यस सुरुङमार्गसँगै बुटवल र पाल्पातर्फको जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, र माथिल्लो भागमा रक नेट, रक सेड तथा स्लोप प्रोटेक्सन प्रविधिमार्फत साढे ३ किलोमिटर सडक सुरक्षित बनाइँदै छ । सुरुङभित्र आपत्कालीन निकासका लागि १५१, १६१ र १३० मिटरका तीन वटा बाइपास सुरुङसमेत खनिएका छन् ।
करिब ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता मार्फत निर्माण हुने सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाका यात्रुहरुले वर्षैभरि सुरक्षित, भरपर्दो र जोखिममुक्त बन्ने विश्वास लिइएको छ ।
(मिति २०८३ जेठ १४ गते करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित समाचार)







