स्वास्थ्य सेवा सुधारमा निस्दी गाउँपालिकाको सक्रियता

पाल्पा । निस्दी गाउँपालिकाले स्वास्थ्य संस्थालाई नागरिकप्रति अझ जिम्मेवार, पारदर्शी र सेवामुखी बनाउने उद्देश्यसहित स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारीलाई अभिमुखीकरण गर्दै स्वास्थ्य संस्थाको सामाजिक परीक्षण सम्पन्न गरेको छ । गाउँपालिकाभित्र रहेका सात वटा स्वास्थ्य चौकीको कार्यसम्पादन, सेवा प्रवाह, स्वास्थ्यकर्मीको भूमिका तथा नागरिकको पहुँचका विषयमा विस्तृत समीक्षा गरिएको हो ।

गाउँपालिकाले स्वास्थ्य सेवालाई स्थानीय सरकारको प्रमुख प्राथमिकतामा राखेर काम गर्दै आएकोले सामाजिक परीक्षणबाट प्रभावकारीता परीक्षण गरिएको जनाएको छ । कार्यक्रममार्फत स्वास्थ्य संस्थाले प्रवाह गरिरहेको सेवा, उपलब्धि, चुनौती तथा सुधार गर्नुपर्ने पक्षहरूबारे सेवाग्राही, स्थानीय नागरिक, जनप्रतिनिधि र स्वास्थ्यकर्मीबीच छलफल गरिएको थियो । विशेषगरी महिला, गरिब तथा पिछडिएका समुदायको प्रत्यक्ष सहभागितालाई जोड दिइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले स्थानीय सरकारले नागरिकको घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित काम गरिरहेको बताउनुभयो । उहाँले सामाजिक परीक्षण केवल औपचारिक प्रक्रिया नभई स्वास्थ्य संस्थालाई नागरिकप्रति उत्तरदायी बनाउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो । “जनताको सुझाव र गुनासो सुनेर सेवा सुधार गर्नु नै स्थानीय सरकारको दायित्व हो,” अध्यक्ष सारुले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा देखिएका कमजोरी सुधार्दै प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न गाउँपालिका प्रतिबद्ध छ ।”

प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर चितौरेले सामाजिक परीक्षणले स्वास्थ्य संस्थाको वास्तविक अवस्था पहिचान गर्न सहयोग पुगेको बताउनुभयो । उहाँका अनुसार यस प्रक्रियाले सेवा प्रदायकलाई थप जवाफदेही बनाउने, नागरिक र स्वास्थ्य संस्थाबीच नियमित सूचना आदान–प्रदान तथा संवादको वातावरण निर्माण गर्ने काम भएको बताउनुभयो ।

स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशाले स्वास्थ्य संस्थाका राम्रा अभ्यासलाई निरन्तरता दिँदै देखिएका कमजोरी सुधारका लागि ठोस कार्ययोजना तयार गरी काम गर्न गत वर्ष जस्तै यस वर्ष पनि कार्यक्रम गरिएको जानकारी दिनुभयो । उहाँले मातृ तथा शिशु स्वास्थ्य, खोप सेवा, पोषण, सुरक्षित प्रसूति तथा दीर्घरोग व्यवस्थापनलाई गाउँपालिकाले विशेष प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो ।

ज्यामिरे स्वास्थ्य चौकी प्रमुख खेम सारुले सामाजिक परीक्षणपछि स्वास्थ्यकर्मीहरूमा थप जिम्मेवारीबोध बढेको बताउनुभयो । उहाँले नागरिकका सुझावलाई आत्मसात गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी, सहज र गुणस्तरीय बनाइने बताउनुभयो । कार्यक्रममा सहभागीहरुले स्वास्थ्य संस्थामा पछिल्लो समय सेवा सुधार हुँदै गएको अनुभव सुनाएका थिए । उनीहरुले विकट क्षेत्रमा सामुदायिक स्वास्थ्य एकाई र गाउँधर क्लिनिकको थप व्यवस्था, पूर्वाधार विकास, नियमित औषधि उपलब्धता, नियमित स्वास्थ्यकर्मी उपस्थिति, प्रयोगशाला सेवा, समयम समयमा विशेषज्ञ चिकित्सकसहितको शिविर र सेवा प्रक्रियामा अझ सुधार आवश्यक रहेको सुझाव दिएका थिए ।

(मिति २०८३ जेठ १४ गते करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित समाचार)

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय