तिनाउको लामाचौपारीमा प्रतिक्षालय र शौचालय निर्माण तीव्र

पाल्पा । तिनाउ गाउँपालिका २ नंं वडा लामाचौपारीमा प्रतिक्षालयसहित शौचालय निर्माण कार्य तीव्र रुपमा भएको छ । यात्रु तथा स्थानीय बासिन्दाको सहजताका लागि पूर्वाधार निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । निर्माण कार्य सम्पन्न भएपछि विशेषगरी गाउँपालिकाको १ र २ नं. वडाका नागरिकहरूले प्रत्यक्ष रुपमा फाइदा पुग्ने छ ।

चौपारीको रुख सुकेर ढलेको र भएको शौचालय जीर्ण हुँदा यात्रु तथा स्थानीयबासिन्दालाई समस्या भएकोले सार्वजनिक जग्गाको संरक्षण र सही सदुपयोग गर्ने उद्देश्यका साथ गाउँपालिकाले योजना अघि सारेको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । उहाँले बजार क्षेत्र समेत रहेको यस स्थानमा लामो समयदेखि सवारीसाधन रोक्ने र यात्रुले गाडी कुर्ने गरे पनि खानेपानी र शौचालयको असुविधा रहेको बताउनुभयो ।

उपाध्यक्ष लालबहादुर थापाले स्थानीय बासिन्दाको माग र आवश्यकतालाई सम्बोधन गर्दै गाउँपालिकाले लामाचौपारी प्रतिक्षालय सहित शौचालय निर्माण को योजना अघि बढाएको बताउनुभयो । अब लामो समयदेखिको स्थानीयको आवश्यकता पूरा हुन लागेको बताउँदै उहाँले निर्माण कार्यलाई तोकिएको समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्न गाउँपालिकाले निरन्तर निगरानी गर्दै आएको बताउनुभयो । पूर्वाधार निर्माण पछि यात्रुहरूलाई विश्राम गर्न र बजार क्षेत्रलाई स्वच्छ राख्न ठूलो मद्दत पुग्ने विश्वास उपाध्यक्ष थापाले लिनुभएकोछ ।

पूर्वाधार निर्माणको जिम्मा कैलाश शिवा कन्स्ट्रक्सन सप्लायर्स एण्ड इन्जिनियरिङ कन्सल्टेन्सी सर्भिसेज प्रा.लि., पाल्पाले पाएको प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताउनुभयो । उहाँका अनुसार कुल ३२ लाख ५४ हजार ३८६ रुपैयाँ ५२ पैसाको लागतमा सम्पन्न हुने गरी गत २०८२ साल पौष २३ गते निर्माण कम्पनीसँग औपचारिक सम्झौता भएको हो । सम्झौताअनुसार उक्त निर्माण कार्य आगामी २०८३ साल चैत्र ३० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको छ ।

तिनाउ वडा नम्बर २ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता यादवप्रसाद अर्यालले यात्रुहरूले घामपानी नभनी खुल्ला आकाशमुनि गाडी कुर्नुपर्ने बाध्यता अब अन्त्य हुँने बताउनुभयो । उहाँले केही समयपछि खानेपानी र आधुनिक शौचालयको व्यवस्थापन भएपछि यहाँको वातावरण सफा रहने विश्वास व्यक्त गर्नुभयो । पूर्वाधार निर्माणको कामले गति लिएपछि स्थानीयबासी पनि उत्साहित भएका छन् ।

(मिति २०८३ जेठ १४ गते करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित समाचार)

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय