पाल्पा बन्यो मुलुककै पहिलो ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’ जिल्ला

तानसेन । पाल्पा जिल्ला नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त र पूर्ण खोप सुनिश्चितता दिगोपना कायम गर्ने जिल्ला बन्न सफल भएको छ ।

जिल्ला प्रजनन् स्वास्थ्य तथा खोप समन्वय समिति पाल्पाद्वारा आयोजित समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्ण संस्थागत प्रसूति सेवायुक्त र पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला भएको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका मुख्यमन्त्री आचार्यले पाल्पाले स्वास्थ्य क्षेत्रमा स्थापित गरेको यो मानक देशकै लागि अनुकरणीय रहेको बताउनुभयो । सन् २०३० सम्ममा मातृ मृत्युदर प्रति १ लाख जीवित जन्ममा ७० र नवजात शिशु मृत्युदर प्रति १ हजारमा १२ मा झार्ने नेपाल सरकारको दिगो विकास लक्ष्य पूरा गर्न पाल्पाको यो घोषणा कोसेढुङ्गा सावित हुने उहाँको भनाइ थियो । प्रदेश सरकारले भौतिक विकासमा मात्र नभै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजना गरेको मुख्यमनत्री आचर्यले बताउनुभयो । उहाँले प्रदेश सरकारले जारी गरेको मापदण्ड पूर्ण पालना गराई स्वास्थ्य क्षेत्रमा स्थानीय सरकारले देखाएको अपनत्वको प्रशंसा समेत गर्नुभयो ।

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले नेपालको संविधानले सुनिश्चित गरेको सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य अधिकारलाई पाल्पाले व्यवहारमै लागू गरेर देखाएको बताउनुभयो । उहाँले सरकारले पूर्वाधार विकासमा भन्दा सामाजिक विकासमा लगानी बढाउनुपर्ने बताउनुभयो । मौलिक हकको रूपमा रहेका स्वास्थ्य सेवालाई नागरिकको घरदैलोसम्म पु¥याउन ऐन र नियमावलीको प्रभावकारी कार्यान्वयनमा पाल्पा अग्रसर देखिएकोमा सभामुख घर्तीमगरले खुसी व्यक्त गर्नुभयो ।

त्यसैगरी लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारूले पाल्पामा यस वर्षदेखि १४ वटा सरुवा रोगविरुद्धका नियमित खोपका अतिरिक्त महिलाको पाठेघरको क्यान्सरविरुद्ध एचपिभी खोपसमेत सफल रूपमा उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले खोपको कभरेज ९५ प्रतिशतभन्दा माथि पु¥याएर दिगोपना कायम राख्ने प्रदेश सरकारको नीतिलाई पाल्पाले सार्थक बनाएको स्पष्ट पार्नुभयो । उहाँले पाल्पाको स्वास्थ्य क्षेत्रमा भएको परिर्वतन सकारात्मक रहेको बताउदै प्रदेश सरकारले प्राथमिकताका साथ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले जिल्लाका २ नगरपालिका र ८ गाउँपालिकासहित दश वटै स्थानीय तहमा रहेका सबै ८१ वटा वडाहरू पूर्ण रूपमा प्रमाणिकरण भई यो सफलता मिलेको बताउनुभयो । समन्वय र सहकार्यका कारण नै वर्षेनी पूर्ण खोपको दिगोपना र सुरक्षित मातृत्व सुनिश्चित गर्न सम्भव भएको उहाँको दाबी थियो ।

कार्यक्रममा तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ र माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, रास्वपाका उपसभापति सुमन गैरे, स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीलगायतले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँहरूले भौगोलिक विकटताका बाबजुद पनि कुनै पनि बालबालिका खोप पाउनबाट नछुटुन् र कोही पनि आमा घरमा प्रसूति हुन नपर्ने वातावरण निर्माण गर्न सफल हुनु सबैका लागि सुखद भएको बताउनुभयो ।

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलले जिल्लाको विस्तृत प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थागत प्रसूति शतप्रतिशत रहेको बताउनुभयो । उहाँले प्रोटोकल अनुसार ४ पटक गर्भजाँच गराउने संख्या दुई हजार १३९ र स्वास्थ्य संस्थामा प्रसूति गराएका महिलाहरुको संख्या दुई हजार २६२ रहेको बताउनुभयो । वि.सं. २०७० साल फागुन १३ गते नेपालमै पहिलो पटक पाल्पा पूर्ण खोप जिल्ला घोषणा भएको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै प्रमुख पोखरेलले यस वर्ष पनि दिगोपना र संस्थागत प्रसूति दुवैमा इतिहास रच्न सफल भएको दाबी गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय