
पाल्पा । पछिल्लो समय समाजमा किशोरी तथा छात्राहरूमाथि बढ्दै गएका हिंसाजन्य घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले पाल्पा र गुल्मीका किशाेरीहरूलाइ आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम दिइएको छ । सामाजिक विकास डिभिजन कार्यालय, पाल्पाले कक्षा ११ र १२ मा अध्ययनरत पाल्पाको माथागढी गाउँपालिका–३ मा रहेको दिव्य ज्योति माध्यमिक विद्यालयका ३० जना र गुल्मीको मुसिकोट नगरपालिका–४, कुर्घाको त्रिभुवन माध्यमिक विद्यालयका ३० जना गरी ६० जना छात्रालाई ४५ दिने तालिम दिएको हो ।
विद्यालय तहदेखि नै छात्राहरूलाई शारीरिक र मानसिक रूपमा सबल बनाउनका लागि तालिम संचालन गरिएको सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख लक्ष्मण घिमिरेले बताउनुभयो । उहाँले तालिमले छात्राहरूमा आत्मविश्वास बढाउनुका साथै आपतकालीन अवस्थामा शत्रुलाई कसरी परास्त गर्ने भन्ने राणनीतिक कौशलको ज्ञान लिएर आफ्नो सुरक्षा आफैं गर्न सक्ने क्षमताको विकास भएको बताउनुभयो
समाजमा विद्यमान लैङ्गिक विभेद र हिंसाको जालो चिर्न किशोरीहरू सचेत र सीपयुक्त हुनुपर्ने आवश्यकता महसुस गरी तालिम चलाइएकाआइतबार दिव्य ज्योति माविमा आयोजित तालिम समापन कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले किशोरीहरूलाई आत्मनिर्भर र सुरक्षित बनाउन आत्मरक्षाको सीप अपरिहार्य रहेको औंल्याउनुभयो । उहाँले अहिलेको समयमा किशोरीहरूमाथि विभिन्न बहानामा शारीरिक, मानसिक तथा यौनजन्य हिंसाका घटनाहरू हुने गरेको बताउदै “यस्ता तालिमले छात्राहरूलाई ती हिंसाबाट जोगिन मात्र होइन, आपत्कालीन अवस्थामा प्रतिकार गर्न पनि सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा माथागढी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष तेजबहादुर घर्तीमगरले स्थानीय सरकारले किशोरीहरूको सशक्तीकरण र सुरक्षाका मुद्दालाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेखीराम रानाले विद्यालयले केवल किताबी ज्ञान मात्र नभई जीवनोपयोगी सीपलाई पनि जोड दिएको बताउनुभयो ।
सहभागी छात्राहरूलाई दैनिक जीवनमा हिँडडुुल गर्दा वा सार्वजनिक स्थलमा कहीँ कतैबाट हुनसक्ने सम्भावित आक्रमण वा दुव्र्यवहारबाट कसरी जोगिने र प्रतिकार गर्ने भन्ने विषयमा प्रयोगात्मक सीप सिकाइएको मुख्य प्रशिक्षक शर्मिला घर्तीमगरले जानकारी दिनुभयो ।
तालिममा सहभागी विद्यार्थी निष्मा रानाले तालिमले आफूहरूभित्र रहेको डर पूर्ण रूपमा हटाएको बताउनुभयो । उहाँले “पहिले बाटोमा एक्लै हिँड्दा वा कसैले जिस्क्याउँदा डर लाग्थ्यो । तर अब हामीलाई कसरी आफ्नो सुरक्षा आफैँ गर्ने भन्ने सिकाइ भएको छ ।
यस्तैगरी गुल्मीको त्रिभुवन माविमा आयोजित तालिम समापनका अवसरमा मुसिकोट नगरपालिकाकी उपप्रमुख गङ्गा श्रेष्ठले किशोरीहरू हरेक हिसाबले जोखिममा रहेकाले यस्ता प्रतिरक्षा सीपले उनीहरूलाई अब्बल बनाउने धारणा राख्नुभयो । उहाँले तालिमले किशोरीहरूको आत्मरक्षा गर्ने क्षमता बढाउने र उनीहरूमा सुरक्षित अघि बढ्ने ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयमा मुख्य प्रशिक्षक विनोद नेपाली र सहायक प्रशिक्षक कृष्ण रानाले किशोरीहरूलाई आपतकालीन अवस्थामा प्रतिरक्षा गर्ने प्रयोगात्मक अभ्यास गराउनुभएको थियो ।
तालिमका संयोजक ऋषिराम पाण्डेयले ४५ दिनसम्म चलेको सघन प्रशिक्षणमा छात्राहरूले निकै उत्साहजनक सहभागिता जनाएको उल्लेख गर्नुभयो । तालिम अवधिभर छात्राहरूलाई अपरिचित व्यक्तिबाट हुने आक्रमणबाट बच्ने तरिका, घरेलु हिंसाका विरुद्ध आवाज उठाउने कला र मानसिक रूपमा स्थिर रहने विभिन्न १० वटा विधिहरू सिकाइएको बताउनुभयो ।







