वर्षौंदेखि बेवारिसे प्रभासको कृषि हाटबजार

पाल्पा ।राज्यकोषको लाखौँ रकम खर्चेर निर्माण गरिएको तानसेन नगरपालिका–७, प्रभासको कृषि हाटबजार वषौँदेखि बेवारिसे अवस्थामा रहेको छ । कृषकलाई बजार र उपभोक्तालाई ताजा उत्पादन उपलब्ध गराउने लक्ष्यका साथ पाँच वर्षअघि निर्माण गरिएको यो संरचना निर्माण भएदेखि प्रयोग विहीन अवस्थामा छ । जसका कारण निर्माण भएका संरचना अस्तव्यस्त हुनुका साथै जीर्ण बन्दै गएको छ । यहाँ शिवरात्रीमा वर्षको एक दिन मेला लाग्ने बाहेक अन्य समयमा यो थलो सुनसान रहने गरेको छ । जसका कारण प्रयोग नै नगर्ने भए राज्यको बजेट किन खर्च गरी संरचना निर्माण गरियो भन्ने स्थानीयहरुले प्रश्न गर्ने गरेका छन् ।

यो संरचना निर्माणका लागि आर्थिक वर्ष २०७७÷७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई (जोन) पाल्पाको ५० प्रतिशत, तानसेन नगरपालिकाको ४० प्रतिशत र बाँकी वंशगोपाल कृषि सहकारी संस्था लिमिटेड, मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था, र जोन सञ्चालन समन्वय समितिको त्रिपक्षीय लागत साझेदारीमा २३ लाख ८५ हजार ७५८ रुपैयाँ खर्च गरिएको थियो । जसमा हाटबजारका लागि खुल्ला टहरा, एक सटरसहितको तीन कोठाको संरचना तयार भएको थियो । यसका साथै नगरपालिकाले थप ३ लाख खर्चेर ढल व्यवस्थापन समेत गरेको कृषि बजारीकरण कार्यक्रम सञ्चालन तथा निर्माण समितिका अध्यक्ष श्रीकृष्ण पाण्डेले बताउनुभयो । उहाँले संरचना सम्पन्न भएपछि सञ्चालनको अख्तियारी नपाउँदा र कार्यविधि अनुसार काम अगाडि नबढ्दा लगानी खेर गइरहेको बताउनुभयो ।

तानसेनका तत्कालिन नगरप्रमुख अशोककुमार शाहीको कार्यकालमा खाद्यान्न, तरकारी, फलफुल, नगदेवाली, पशुजन्य उत्पादन लगायतका विभिन्न कृषि उपजहरुको माग तथा उत्पादनमा समेत वृद्धि हुदै आएकोले कृषकहरुबाट उत्पादित कृषि उपजबाट कृषक, व्यापारी, पाल्पाली उपभोक्तालाई लाभ हुनेगरी तानसेन नगरपालिका क्षेत्र भित्र व्यवस्थित तथा प्रतिस्पर्धात्मक बजार प्रणाली विकास तथा व्यवस्थापन गर्न ‘हाटबजार सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७८’ स्वीकृत गरिएको थियो । नीति र नियम त बन्यो, तर त्यसलाई कार्यान्वयन गर्ने इच्छाशक्ति पछिल्लो नेतृत्वले नदेखाउँदा सम्भावना बोकेको कृषि बजार अहिले जीर्ण अवस्थामा पुगेको छ । अर्कोतर्फ कृषकहरु आफ्ना उत्पादन सस्तोमा बिचौलियालाई बेच्न बाध्य छन्

तानसेन ७ का वडाध्यक्ष प्रदीप खनालले हाटबजार सञ्चालनका लागि पहल गरिरहेको बताउनुभयो । उहाँले प्रभासमा मात्र हाटबजार सञ्चालन गरेर कृषि उपज खपत नहुँने भएकोले छिमेकी गाउँपालिकाहरु रिब्दीकोट, बगनासकाली र माथागढीसँग समन्वय गरेर चक्रिय प्रणालीमा हाटबजार चलाउने र एक ठाउँमा नबिकेका कृषि उपज अर्को बजारमा लगेर विक्री गर्ने वातावरण निर्माण गर्ने योजना अनुसार पालिकहरुसंग छलफल भैरहेको बताउनुभयो ।
(२०८३ जेठ ४ गते करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित समाचार)

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय