
पाल्पा । नेपालको आर्थिक समृद्धिको मुख्य आधार कृषि नै भएको पाल्पा र स्याङ्जाका जनप्रतिनिधि तथा कृषकहरूले जोड दिएका छन् । नेपाल टेलिभिजनको ‘समृद्धि सम्भव छ’ कार्यक्रम अन्तर्गत तानसेनमा आयोजित अन्तरसंवादमा सहभागीहरूले कृषिलाई निर्वाहमुखी मात्र नबनाई उद्यमका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका ह्न ।
कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन अहिले मासु, दूध र तरकारीमा आत्मनिर्भर भई निर्यातको चरणमा पुगेको जानकारी गराउनुभयो । नगरपालिकाले संकलन केन्द्र र भण्डारण जस्ता पूर्वाधारमा लगानी बढाएको उहाँको भनाइ थियो । यस्तै, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले आफ्नो पालिकालाई ‘अकबरे खुर्सानीको हब’ बनाइएको जानकारी दिनुभयो । उहाँले किसानलाई टनेल, बीउ र मलमा अनुदान दिनुका साथै प्राङ्गारिक मल कारखाना समेत स्थापना गरिएको बताउनुभयो । स्याङ्जाको वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैरेले उत्पादनमा आधारित अनुदानले उत्साहजनक नतिजा दिएको बताउनुभयो । वालिङमा दूधमा प्रतिलिटर १० रुपैयाँ र तरकारीमा प्रतिकिलो ५ रुपैयाँ अनुदान दिने व्यवस्था गरिएको छ, जसले गर्दा सहर अहिले आत्मनिर्भर बनेको उहाँको भनाइ थियो ।
अन्तरसंवादमा सफल कृषकहरूले आफ्नो प्रगति सुनाउँदै युवाहरूलाई स्वदेशमै अवसर रहेको बताए । कृषक सीता कुँवरले शिक्षण पेसा छाडेर कृषि अंगालेको र वार्षिक दश लाख रुपैयाँसम्म आम्दानी गरिरहेको बताउनुभयो । एउटा बाख्राबाट सुरु भएको उहाँको यात्रा अहिले गाईभैंसी र २०० रोपनीमा फैलिएको फलफूल खेतीसम्म पुगेको छ । त्यस्तै, वार्षिक १५ लाख कमाइरहेका कृषक रमेश भण्डारीले विदेश जानु पर्दैन, परिवारसँगै बसेर काम गर्दा सन्तोष मिलेको बताउनुभयो ।
हेफर इन्टरनेशनलका राष्ट्रिय निर्देशक डा. तीर्थराज रेग्मीले राज्यको लगानीको ठूलो हिस्सा रासायनिक मलमै सकिने र किसानले बैंकबाट सहज ऋण नपाउने समस्या रहेको बताउनुभयो । स्थानीय तहले कृषि बजेट बढाएर ११ प्रतिशत पु¥याउनु सकारात्मक भए पनि यो अझै पर्याप्त नरहेको उहाँको तर्क थियो ।
किसानहरूले मुख्य समस्याका रूपमा वन्यजन्तुको आतंकलाई उठाएका छन् । बाँदर, बँदेल लगायतका जनावरले बाली नष्ट गर्दा अर्गानिक खेती जोगाउनै मुस्किल परेको गुनासो मीना अधिकारी न्यौपाने र कुस्माखर पाण्डेयले गर्नुभयो । उहाँहरूले पशुमा जस्तै बालीनालीमा पनि बिमा कार्यक्रम प्रभावकारी बनाउन माग गर्नुभयो ।
छलफलमा प्रविधिको प्रयोग र बजार मूल्यको विषय पनि प्राथमिकताका साथ कुरा उठेको थियो । ‘जियो कृषि’ जस्ता एपहरूमा काठमाडौंको कालिमाटीको मात्र मूल्य अपडेट हुने तर स्थानीय बजारको जानकारी नहुँदा किसानहरू मारमा परेको सहभागीहरूले बताए । पत्रकार संगम महतले सहजीकरण गरेको कार्यक्रममा तानसेन, रिब्दीकोट र वालिङका जनप्रतिनिधि, कृषि विज्ञ र कृषकहरूको सहभागिता रहेको थियो । सहभागीहरूले कृषिमा उचित नीति, बजार ग्यारेन्टी र वन्यजन्तु नियन्त्रणको ठोस योजना ल्याउन सके कृषिबाटै समृद्धि सम्भव रहेको सहभागीले बताएका थिए ।







