
पाल्पा । रम्भा गाउँपालिका–२, फोक्सिङ्गकोटमा लामो समयको प्रतीक्षापछि अत्याधुनिक स्वास्थ्य चौकी भवनको निर्माण कार्य सुरु भएको छ । शुक्रबार एक विशेष समारोहका बिच लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले जग पूजा गरी भवनको विधिवत् शिलान्यास गर्नुभएको हो ।
लुम्बिनी प्रदेश सरकारको एक करोड ७५ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको २ तले भवनमा १५ वटा कोठाहरू रहनेछन् । रिलाईन्स इन्जिनियरिङ्ग प्रा.लि.ले निर्माणको जिम्मा पाएको भवन एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री सारुले स्वास्थ्य नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै भवन केवल इँटा र सिमेन्टको संरचना मात्र नभै यहाँका जनताको भरोसाको केन्द्र रहेको बताउनुभयो । उहाँले निर्माण कार्यलाई समयमै सम्पन्न गर्न र प्राविधिक रूपमा सुरक्षित एवं गुणस्तरीय बनाउन स्थानीय बासिन्दा, जनप्रतिनिधि र निर्माण कम्पनी सबैको उत्तिकै दायित्व रहने बताउनुभयो ।
त्यस्तै, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले लामो समयको प्रयास र समन्वयपछि भवन निर्माणको प्रक्रिया अघि बढेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भवन बनेपछि सेवाको गुणस्तरमा समेत वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । विगत लामो समयदेखि भवन निर्माण स्थल र सेवाको पहुँचका विषयमा स्थानीय स्तरमा विवाद हुँदा निर्माण कार्य अन्योलमा परेको थियो । तर, फोक्सिङ्गकोट भञ्ज्याङ्गथोक निवासी सन्तविर सिंजापतीले निःशुल्क जग्गा उपलब्ध गराएपछि भवन निर्माणको बाटो खुलेको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले जग्गादाताको यो उदारताको उच्च प्रशंसा समेत गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राधाकुमारी श्रेष्ठले भवन निर्माण भएपछि स्थानीयस्तरमै व्यवस्थित उपचार र परामर्श सेवा उपलब्ध हुने बताउनुभयो ।
स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलले समयमै निर्माण कार्य सम्पन्न गर्दा सामान्य उपचारका लागि टाढाका अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो । उहाँले समय र खर्चको बचत हुँदा नागरिकलाई अन्य काममा समय खर्च गर्न सक्ने बताउनुभयो ।
यस्तैगरी इन्जिनियर दीपक सारु, राजनीतिक दलका प्रतिनिधिहरू हुमबहादुर पाडे र धनबहादुर पौडेल, स्वास्थ्य शाखा प्रमुख शिव अर्याल र वडा सचिब धन कुमारी सारूलगायतले तोकिएको समयमा गुणस्तरीय काम सम्पन्न गरी नागरिकलाई नजिकबाट स्वास्थ्य सेवा लिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको वडाध्यक्ष चेतबहादुर सुनारीले बताउनुभयो ।







