पूर्वखोला पूर्ण खोप, संस्थागत प्रसूति र पोषण मैत्री गाउँपालिका

पाल्पा । पूर्वखोला गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता’, ‘पूर्ण संस्थागत प्रसूति दिगोपना’ र ‘पोषण मैत्री स्वास्थ्य संस्था’ भएको गाउँपालिका घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुको प्रमुख आतिथ्यतामा घोषणा कार्यक्रम भएको हो ।

कार्यक्रममा मन्त्री सारुले नेपालको संविधानले ग्यारेन्टी गरेको सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यको अधिकारलाई व्यवहारमा उतार्न पूर्वखोला गाउँपालिकाले गरेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो । प्रदेशमै पहिलो पटक पूर्ण संस्थागत प्रसूति घोषणा भएको यस पालिकाले स्वास्थ्यका सूचकहरूमा हासिल गरेको सफलतालाई अन्य स्थानीय तहका लागि पनि सिक्न लायक रहेको उहाँले बताउनुभयो । अब शारीरिक स्वास्थ्यसंगै मानसिक र सामाजिक स्वास्थ्यलाई समेत ध्यान दिएर अगाडि बढ्नुपर्ने मन्त्री सारुको भनाइ थियो । उहाँले पछिल्लो समयमा नसर्ने रोग तीव्र रुपमा बढ्दो अवस्थामा रहेको बताउदै यस विषयमा लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको समेत जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले स्वास्थ्य क्षेत्रमा पूर्वखोलाले हासिल गरेको सफलता अन्य स्थानीय तहका लागि पनि अनुकरणीय रहेको बताउनुभयो । उहाँले पाल्पा जिल्ला २०७० सालमै नेपालको पहिलो पूर्ण खोप युक्त जिल्ला भएको र जिल्लाका दश स्थानीय तह मध्ये पूर्वखोला २०७६ सालमा पहिलो भएको स्मरण समेत गर्नुभयो ।

गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले नागरिकको सहज पहुँचमा स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिका क्रियाशील रहेको बताउनुभयो । उहाँले यस कार्यका लागि अहोरात्र खटिनुहुने ५५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, ४७ जना दक्ष स्वास्थ्यकर्मी र सम्पूर्ण जनप्रतिनिधिहरूको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । यही मेहेनतले नै पूर्वखोला पाल्पा जिल्लाका दश स्थानीय तहमध्ये स्वास्थ्य सूचकाङ्कमा अग्रस्थानमा रहन सफल भएको अध्यक्ष थापाको भनाइ छ ।

गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराईले सुनौलो एक हजार दिनका आमाहरूलाई पुरस्कृत गर्ने र बालबालिकाको नियमित तौल लिने हाम्रो अभियानले पोषणको अवस्था सुधार गर्न ठुलो मद्दत गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यी स्वास्थ्य संस्थाहरूको दिगोपना सुनिश्चित गर्दै किशोरकिशोरी मैत्री सेवालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलले जिल्लालाई देशकै पहिलो पूर्ण खोप युक्त जिल्ला बनाउने अभियानमा पूर्वखोलाको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । यहाँका स्वास्थ्यकर्मी र स्वयंसेविकाहरूको खटाईले गर्दा नै घरमा हुने प्रसूतिलाई शून्यमा झार्न र खोपको पूर्ण सुनिश्चितता गर्न सफल भएको बताउदै यसको निरन्तरताका लागि शुभकामना व्यक्त गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले गाउँपालिका भित्रका ६ वटै स्वास्थ्य संस्थाहरूबाट सहज रुपमा नागरिकलाई सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताउनुभयो । उहाँले प्रशासनिक र व्यवस्थापकीय तर्फबाट स्वास्थ्य सेवालाई नागरिकको घरदैलोसम्म लैजाने विषयलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले गाउँपालिकाको स्वास्थ्य प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाका ६ वटै वडाका स्वास्थ्य संस्थाहरुले पोषण मैत्री मापदण्ड पूरा गरेको जानकारी दिनुभयो । प्रतिवेदन अनुसार, पालिकामा १३५ जना महिलाले स्वास्थ्य संस्थामा प्रसूती गराएका छन् भने घरमा हुने प्रसूति संख्या शून्य रहेको छ । यस्तै, १६ देखि ५९ महिनाका ६०५ जना बालबालिकाले पूर्ण खोप पाएको र कोही पनि बच्चा खोपबाट नछुटेको सुनिश्चित गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय