पाल्पा । स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा र सेवाग्राहीको अपेक्षाबीचको दूरी थाहा पाउन र आफ्नो लगानीको उपलब्धि खोज्दै पाल्पाको माथागढी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका ८ वटा स्वास्थ्य संस्थाको सामाजिक परीक्षण कार्य गरेको छ ।
गाउँपालिकाका ८ वटै वडास्थित स्वास्थ्य संस्थामा सञ्चालन गरिएको सामाजिक परीक्षणले स्वास्थ्य सेवाको अवस्था, सेवाग्राहीको सन्तुष्टि, सेवा प्रवाहमा देखिएका चुनौती तथा सुधारका सम्भावनाबारे प्रत्यक्ष जानकारी संकलन गरेको छ । गाउँपालिकाले स्वास्थ्य सेवालाई थप पारदर्शी, उत्तरदायी र जनमैत्री बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ ।
सामाजिक परीक्षणका क्रममा निःशुल्क औषधि वितरण, आमा सुरक्षा कार्यक्रम, खोप सेवा, पोषण कार्यक्रम, प्रयोगशाला सेवा तथा अन्य आधारभूत स्वास्थ्य सेवाबारे नागरिकसँग प्रत्यक्ष छलफल गरिएको थियो । कार्यक्रममा महिला, दलित, गरिब, पिछडिएका तथा वञ्चित समुदायको उल्लेख्य सहभागिता रहेको सहजीकरणको जिम्मा पाएको सामाजिक संस्था सञ्चर मन्च पाल्पाका अध्यक्ष पदमप्रसाद गैरेले बताउनुभयो ।
स्थानीय महिला सरस्वती रानाले सामाजिक परीक्षणले स्वास्थ्य सेवाप्रति नागरिकको सचेतना बढाएको बताउनुभयो। “पहिले स्वास्थ्य चौकीमा के–कस्ता सेवा निःशुल्क पाइन्छ भन्ने जानकारी कम थियो। अहिले सामाजिक परीक्षणमार्फत सेवा बुझ्ने र आफ्ना समस्या खुलेर राख्ने अवसर मिलेको छ,” उहाँले भन्नुभयो । अर्की सहभागी बेगम कुमालले विगतको तुलनामा स्वास्थ्य सेवामा सुधार आएको अनुभव सुनाउनुभयो । “हामीले निःशुल्क औषधि, खोप तथा प्रयोगशाला सेवा पाएका छौं । गाउँमै बसेर स्वास्थ्य संस्थाको कमीकमजोरीबारे सुझाव दिन पाउनु सकारात्मक कुरा हो । अझै थप सेवा स्थानीय स्तरमै उपलब्ध भए समय र खर्च दुवै बच्ने थियो,” उहाँले बताउनुभयो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशवबहादुर जिसीले सामाजिक परीक्षणले स्वास्थ्यकर्मी र समुदायबीचको सम्बन्ध थप मजबुत बनाएको बताउनुभयो । उहाँका अनुसार परीक्षणबाट प्राप्त समस्या समाधानका लागि कार्य योजना तयार गरिएको छ । “स्वास्थ्य संस्थाका सबल पक्षलाई निरन्तरता दिने र देखिएका कमजोरी सुधार गर्ने कार्ययोजना कार्यान्वयन गर्ने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले स्वास्थ्य संस्थाको वास्तविक अवस्था बुझ्न तथा सेवाग्राहीका गुनासा र सुझाव संकलन गर्न तेस्रो पक्षको सहकार्यमा सामाजिक परीक्षण गरिएको जानकारी दिनुभयो। “यसबाट प्राप्त निष्कर्षले आगामी योजना तथा बजेट निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्नेछ,” उहाँले बताउनुभयो।
गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले स्वास्थ्य सेवाको गुणस्तरमा कुनै सम्झौता नगर्ने नीति गाउँपालिकाले लिएको स्पष्ट पार्नुभयो। “हाम्रो उद्देश्य स्वास्थ्य सेवालाई कागजमा मात्र होइन, व्यवहारमै प्रभावकारी बनाउनु हो। महिला, गरिब तथा विपन्न समुदायको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न सामाजिक परीक्षण गरिएको हो,” अध्यक्ष चिदीले भन्नुभयो ।
माथागढी गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाले प्रयोगशाला सेवा, संस्थागत प्रसूति प्रोत्साहन कार्यक्रम, नियमित खोप सेवा तथा विशेषज्ञ चिकित्सकसहितका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । स्वास्थ्य क्षेत्रमा गरिएका यी प्रयासका कारण ग्रामीण भेगका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार हुनुका साथै सेवा प्रतिको विश्वास पनि बढ्दै गएको गाउँपालिकाको दाबी छ । ( जनतासंग माथागढी)








