एकल महिलालाई भाषण कला तालिम

पाल्पा । रामपुर नगरपालिकामा एकल महिलाहरूका लागि चार दिने स्टेज उद्घोषण तथा भाषण कला तालिम सम्पन्न भएको छ । एकल महिला नगर समन्वय समिति रामपुरको आयोजना र नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिममा २५ जना एकल महिलाको सहभागिता रहेको थियो ।

सोमबार आयोजित समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै नगर उपप्रमुख बालकुमारी थापाले एकल महिलाको सशक्तीकरण र उनीहरूको सामाजिक तथा पारिवारिक भूमिकालाई मजबुत बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । विगतमा एकल महिलाप्रति समाजको दृष्टिकोण नकारात्मक भए पनि पछिल्लो समय सकारात्मक परिवर्तन देखिन थालेको उहाँको भनाइ थियो । सहज जीवनयापनका लागि नगरपालिकाले विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै नगर उपप्रमुख थापाले न्यून आयस्तर भएका एकल महिलाको समस्या समाधानमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नगर कार्यपालिका सदस्य मायादेवी नेपालीले सबै एकल महिलालाई आफ्नो अधिकारप्रति सचेत भई संगठित रूपमा अघि बढ्न आग्रह गर्नुभयो । अर्की कार्यपालिका सदस्य शारदा आचार्यले बाध्यात्मक परिस्थितिमा एकल जीवन बिताइरहेका महिलाहरू एकताबद्ध भएर आफ्ना हकहितका लागि लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सिकेका सीपलाई व्यवहारमा उतार्न सके मात्र तालिमको वास्तविक उपलब्धि हुने प्रशिक्षक सिता डोटेलले बताउनुभयो । सहभागीहरूको तर्फबाट विष्णु मल्ल, पवि पाटा र मुना घिमिरेले तालिम उपयोगी र उपलब्धिमूलक भएको प्रतिक्रिया दिँदै सिकेका सीप व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
तालिममा स्टेज उद्घोषण, प्रभावकारी भाषणकला तथा बैठक सञ्चालनसम्बन्धी विषयमा पत्रकार दानु हिस्की मगर र सिता डोटेलले सहजीकरण गर्नुभएको एकल महिला नगर समन्वय समिति रामपुरका अध्यक्ष लक्ष्मीदेवी ढकालले जानकारी दिनुभयो ।

सम्बन्धित खवर