
पाल्पा । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) पाल्पाको आयोजनामा आधारभूत तहमा विज्ञान विषय अध्यापन गरिरहेका शिक्षकहरुका लागि एक दिने तालिम तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ ।
तालिममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम बहादुर सारू विज्ञान शिक्षाको गुणस्तर सुधार नै देशको समग्र शैक्षिक उन्नतिको आधार भएको भएको बताउनुभयो । उहाँले शैक्षिक गुणूतर वृद्धिका लागि शिक्षकहरूको निरन्तर क्षमता अभिवृद्धि कार्यक्रम आवश्यक रहेको समेत बताउनुभयो ।
कार्यक्रममा विज्ञान शिक्षणलाई व्यवहारमुखी, प्रयोगात्मक तथा विद्यार्थी केन्द्रित बनाउने विषयमा विभिन्न नवीन विधि र रणनीतिहरू प्रस्तुत गरिएको थियो । साथै, कक्षाकोठामा प्रयोग गर्न सकिने सरल र प्रभावकारी शिक्षण सामग्री तथा मूल्याङ्कन पद्धति बारे त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. अकलदेव मिश्र र प्रशिक्षक सुरेन्द्र सुवेदीले विस्तृत रुपमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमा प्याब्सन पाल्पाका अध्यक्ष डाँसुराम पन्तले समय समयमा शिक्षकहरु क्षमता विकास कार्यक्रमलाई प्राथमिकता दिएर सञ्चालन गरिएको बताउनुभयो । उहाँले सिकेको सीप कक्षा कोठामा उच्चतम प्रयोग गर्न शिक्षकहरुलाई आग्रह समेत गर्नुभयो ।
जिल्लाभरका ३८ सदस्य विद्यालयबाट ४५ भन्दा बढी विज्ञान विषयका शिक्षक÷शिक्षिकाहरूको सक्रिय सहभागिता रहेको तालिममा सहभागीहरूले तालिम अत्यन्त उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिँदै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । यस्तै शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धि गर्नुका साथै विद्यालयस्तरमा विज्ञान शिक्षणलाई अझ प्रभावकारी बनाउने विश्वास लिइएको सचिव गंगाबहादुर खत्रीले जानकारी दिनुभयो ।







