
पाल्पा । माथागढी गाउँपालिका–२, रुप्सेस्थित पिपलडाँडा यतिबेला आन्तरिक पर्यटकलाई स्वागत गर्न नयाँ स्वरूपमा तयार भएको छ । प्राकृतिक दृश्यावलोकन, धार्मिक आस्था र आधुनिक पूर्वाधारको अनौठो सङ्गम बनेको यो क्षेत्र अहिले वनभोज र दृश्यावलोकनका लागि जिल्लाकै आशालाग्दो गन्तव्यका रूपमा उदाउँदैछ । समुद्री सतहबाट उच्च स्थानमा रहेको यस क्षेत्रबाट पाल्पाको अन्न भण्डार मानिने माडीफाँट, ऐतिहासिक तानसेन बजार, श्रीनगर डाँडा, बगनास डाँडा, पोखराथोक र मदनपोखरा जस्ता क्षेत्रहरू स्पष्ट देखिन्छन् । शीतल हावापानी र आँपका बगैँचाले गर्दा गर्मीयाममा पनि यहाँको वातावरण निकै लोभलाग्दो हुने गर्दछ, जसले गर्दा कोलाहलपूर्ण शहरबाट केही समय शान्त वातावरणमा बिताउन चाहनेहरूका लागि यो क्षेत्र पहिलो रोजाइमा पर्ने निश्चित छ ।
प्राकृतिक सुन्दरता मात्र होइन, पिपलडाँडाको आफ्नै धार्मिक र सांस्कृतिक महत्व पनि उत्तिकै गहिरो छ । यहाँ अवस्थित जल्पादेवी मन्दिरले यस क्षेत्रलाई आध्यात्मिक गरिमा प्रदान गरेको छ भने विगतका वर्षहरूमा हरितालिका तीजमा लाग्ने ठुलो मेला र मौलिक चर्खे पिङको रौनकले यसको पहिचानलाई माडी क्षेत्रमा स्थापित गरेको थियो । पछिल्लो समय आन्तरिक बसाइँसराइका कारण केही समय सुनसान बनेको यो स्थानलाई वडा कार्यालय र स्थानीयहरूको सक्रियताले पुनः ब्युँताइएको छ । गाउँपालिकाले सहयोग र वडाको समन्वयमा यहाँ पर्यटकका लागि आवश्यक आधारभूत पूर्वाधारहरू निर्माण गरिएका छन् । हाल यहाँ सुविधा सम्पन्न सामुदायिक भवन, सेमिनारका लागि सभाहल, व्यवस्थित वनभोज स्थल, खानेपानी, बिजुली र आधुनिक शौचालयको व्यवस्था भइसकेको छ, जसले गर्दा यो क्षेत्र वनभोज स्थलको रूपमा द्रुत गतिमा विकास हुँदै गएको छ ।
स्थानीय समाजसेवी हरि बहादुर घर्ती यस क्षेत्रको विकास र संरक्षणमा व्यक्तिगत तथा सामाजिक रूपमा निरन्तर लागिरहनुभएको छ । आफ्नो पुर्खाको नासो र सम्पदा जोगाउनु सबैको कर्तव्य भएको उल्लेख गर्दै उहाँले अब नयाँ पुस्ताले यसको आधुनिक प्रचारप्रसारमा जोड दिनुपर्ने बताउनुहुन्छ । यस्तै, वडा अध्यक्ष बोम बहादुर ठाडा पिपलडाँडालाई नमूना पर्यटकीय केन्द्र बनाउन प्रतिबद्ध देखिनुहुन्छ । आधारभूत संरचना तयार भइसकेकाले अबको प्राथमिकता व्यापक प्रचारप्रसार गरी पर्यटक आउने वातावरण निर्माण गर्नु रहेको बताउँदै उहाँले सम्पूर्ण पाल्पाली र छिमेकी जिल्लाका बासिन्दालाई पिपलडाँडा एक पटक अवलोकनका लागि आउनै पर्ने स्थल भएको बताउनुभयो । माडी सेरोफेरोका लागि नजिक र यातायातको सहज पहुँच भएको यो क्षेत्र शैक्षिक भ्रमण, पारिवारिक वनभोज र फोटोग्राफीका लागि उत्कृष्ट थलो बन्दै छ । पूर्वाधारले सुसज्जित यो क्षेत्र अब पर्यटकको आगमनसँगै माथागढी गाउँपालिकाको एक नयाँ पर्यटकीय गन्तव्य बन्ने निश्चित छ ।
गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले गाउँपालिकाले पर्यटकीय क्षेत्रको संरक्षण प्रवद्र्धन, विकास र प्रचारमा प्राथमिकता दिएको बताउनुभयो । स्थानीयको माग र आवश्यकता अनुसार सहयोग गरी पर्यटकीय गन्तव्य बनाउन आफूहरु योजना बनाएर अगाडि बढेको उहाँको भनाइ छ । पिपलडाँडाको विकासले समग्र पाल्पाको पर्यटनमा नयाँ आयम थपेको अध्यक्ष चिदीको भनाइ छ । स्थानीय सरकारको इच्छाशक्ति, जनप्रतिनिधिको सक्रियता र नागरिकको सहकार्य भयो भने ओझेलमा परेका क्षेत्रहरू कसरी पर्यटकीय हब बन्न सक्छन् भन्ने उदाहरण पिपलडाँडाले प्रस्तुत गरेको छ । आगामी दिनमा यसको प्रचारप्रसारमा अझ तीव्रता दिने र पर्यटकलाई स्थानीय स्वाद र संस्कृतिसँग जोड्ने गरी योजना बनाउनुपर्ने स्थानीयवासीको भनाइ छ । माथागढी गाउँपालिकाले प्रत्यक वडामा भएका एतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण र विकासमा ध्यान दिएको जनाएको छ । (वैशाख ७ गते करूवा अर्धसाप्ताहिकमा प्रकािशत समाचार)







