
पाल्पा । निस्दी गाउँपालिका वडा नम्बर– ६, सात्दोबाट, अर्चलेमा सञ्चालित पाचौं नौलो बिहानी कपको उपाधि माथागढी गाउँपालिकाको ४ नं. वडा झडेवाले हात पारेको छ ।
वैशाख ९ गते देखि सञ्चालन भएको खुला साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा झडेवाले रम्भा गाउँपालिकाको हेक्लाङ्ग माथि २–० को अन्तरमा जीत निकालेको हो । बिजेता समूहले नगद ३३ हजार ३ सय ३३ रुपैयाँ र उपबिजेताले नगद २२ हजार २ सय २२ रुपैयाँ र ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरी तेस्रो स्थान रामपुर नगरपालिका जब्कादीले ११ हजार १ सय ११ रुपैयाँ र सान्त्वना आयोजकले ६ हजार ६ सय ६६ रुपैयाँ नगद सहित ट्रफी, मेडल प्राप्त गरेका छन् । प्रतियोगितामा झडेवाका बुद्धि गाहा उत्कृष्ट खेलाडी घोषित भएका छन् । विधागत तर्फ बेस्ट स्पाइकर हेक्लाङ्गका प्रकाश झेडी, बेस्ट सेटर झडेवाका बुद्ध गाहा, डिफेन्डर हेक्लाङ्गका कपिल सिंजाली भएका छन् भने बेस्ट ब्लकरमा झडेवाका हेमन्त र कोचमा झडेवाकै सुमन सिंजाली पुरस्कृत भएका थिए । बिजयी टीम तथा कार्यक्रम सञ्चालनमा आर्थिक सहयोग गर्ने सहयोगदाताहरुलाई एक कार्यक्रमका बिच पुरस्कार वितरण तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा जनप्रिय बाल क्लब अर्चले र नव उदय बाल क्लब सात्दोबाटका विभिन्न संगीतिक प्रस्तुति रहेको थियो । वडा अध्यक्ष मेख बहादुर सुनारीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको पुरस्कार वितरण कार्यक्रमको सञ्चालन सचीव विवश सारुले गर्नुभएको थियो ।







