पाल्पामा आयातित औलोको सङ्क्रमण जोखिम कायमै

पाल्पा । पाल्पामा आयातित औलोको सङ्क्रमणको जोखिम कायमै रहेको पाइएको छ । जिल्लामा परीक्षण गर्दा फेला परेका सबै बिरामी भारतबाट सङ्क्रमण बोकेर आएका आयातित बिरामी भेटिने गरेकोले जोखिम रहेको हो ।

स्वास्थ्य कार्यालय पाल्पाले विश्व औलो दिवसका अवसरमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा कार्यलयका प्रमुख टुकप्रसाद पोखरेलले जिल्लामा औलो रोगको समग्र अवस्था बारे जानकारी गराउदै पछिल्ला वर्षमा परीक्षणको दरमा वृद्धि गरिएको बताउनुभयो । किटद्धारा गरिने द्रुत परीक्षण (आरडिटी) परीक्षणमा आर्थिक वर्ष २०८०÷८१ मा ४ हजार २७६ जनाको रगत परीक्षण गरिएकोमा ४ जनामा सङ्क्रमण देखिएको थियो । यस्तै, आर्थिक वर्ष २०८१/८२ मा परीक्षणको दायरा बढाएर ५ हजार १७५ पु¥याउँदा ११ जनामा औलो पुष्टि भयो । चालु आर्थिक वर्ष २०८२/८३ को चैत्र मसान्तसम्म ३ हजार १८४ जनाको परीक्षण भइसकेको छ, जसमा २ जनामा सङ्क्रमण फेला परेको छ । विगत तीन वर्षमा फेला परेका मध्य २० जना सङ्क्रमित आयातित बिरामी रहेको र पाल्पामा आफ्नै भूगोलभित्र लामखुट्टेले टोकेर एक व्यक्तिबाट अर्कोमा सर्ने स्थानीय औलोको दर शून्य रहेको प्रमुख पोखरेलको भनाइ छ ।

कार्यक्रममा ल्याब टेक्निसियन अधिकृत मधुसुधन भट्टराईले मलेरिया अर्थात् औलो रोग एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने बताउनुभयो । उहाँले औलो रोग, नेपालको अवस्था र रणनीतिका विषयमा जानकारी गराउदै कामज्वरो आउनु, टाउको दुख्नु, वाकवाकी लाग्नु र पसिना आएर ज्वरो निको हुनु यसका प्रमुख लक्षण रहने जानकारी गराउनुभयो । समयमै उपचार नभए यसले कलेजो, फियो र मस्तिष्कमा गम्भीर असर पु¥याउने भएकाले ज्वरो आउनासाथ रगत परीक्षण गराउनुपर्ने भट्टराईको सुझाव छ । नेपालका सबै सरकारी स्वास्थ्य संस्थामा औलोको परीक्षण र औषधि निःशुल्क उपलब्ध रहेको उहाँले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय