
पाल्पा । नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवस पाल्पामा पनि मनाइएको छ । नेकपा एमालेले प्रवचन कार्यक्रमको आयोजना गरेर बुधबार दिवस मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य नारायण आचार्यले आफ्नो नेतृत्वमा कसैले पनि पार्टी राम्रो नहोस् नभन्ने बताउनुभयाे उहाँले अहिले नेतृत्वमाथि भएको हमला विरुद्ध प्रतिवाद गर्न बताउनुभयो । पार्टीलाई धेरै अप्ठ्यारो परेको छ । एमालेको नेतृत्वमा रहेको सरकारले राम्रो काम गरेको हुँदा घेराबन्दी भएको उहाँले बताउनुभयो । भावनामा बहकिएर पार्टी र नेतृत्वको विरुद्ध गलत नबुझ्न उहाँले अपिल गर्नुभयो । पाल्पामा पनि एमालेको नेतृत्वमा बनेका स्थानीय सरकार र जनप्रतिनिधिले विकास निर्माणसँगै जिविकोपार्जनमा जोड्ने काम गरेको नेता आचार्यले बताउनुभयो ।
कार्यक्रम एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्ती मगरले कम्युनिस्ट पार्टी स्थापना, वर्तमान अवस्थाका बारेमा अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्र, जिल्ला र स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । एमाले तानसेन नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
यसैबीच पाल्पामा विभिन्न दलले संयुक्त रूपमा ७७ औं कम्युनिस्ट स्थापना दिवस मनाएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी पाल्पा, राष्ट्रिय जनमोर्चा पाल्पा र नेपका माओवादी पाल्पाले संयुक्त रूपमा बुधबार तानसेनमा स्थापना दिवस मनाएका हुन् ।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य यादव बहादुर रायमाझी, पार्वती विक, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोमकुमार कार्की, नेकपा माओवादी लुम्बिनी प्रदेश कमिटीका सदस्य आकाश थापाले शुभकामना दिनुभएको थियो । कार्यक्रमका वक्ताले कम्युनिस्ट आन्दोलन र एकताबारे चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा संविधानसभा सदस्य लीला सोमै, नरमती सिंजाली, दलबहादुर राना, पुरन गैरे, गोमा मगर लगायतले कम्युनिस्ट पार्टी एकता गर्नुपर्ने सुझाव दिनुभएको थियो ।
कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नका लागि पाल्पाबाट एकताको सन्देश दिन स्थापना दिवश संयुक्त रूपमा मनाइएको राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले बताउनुभयो ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक अशोककुमार शाहीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामीले सञ्चालन र नेकपा माओवादी पाल्पाका सदस्य पुर गैरे शर्माले स्वागत गर्नुभएको थियो ।







