
पाल्पा । रम्भा गाउँपालिकामा संघीयता कार्यान्वयनको लामो पर्खाइपछि आफ्नै प्रशासनिक भवन निर्माणले उत्साहजनक गति लिएको छ । विगत आठ वर्षदेखि साँघुरो भाडाको संरचनाबाट सेवा प्रवाह गर्न बाध्य यस गाउँपालिकामा गएको भदौ १७ गते प्रशासकीय भवन निर्माण सम्झौता भएपछि हालसम्म ४० प्रतिशत भौतिक प्रगति हासिल भएको छ । गाउँपालिका स्थापनाको लामो समयसम्म केन्द्रको टुङ्गो नलाग्दा भवन निर्माण प्रक्रिया ओझेलमा परेको भए पनि केन्द्र निर्धारण भएको डेढ वर्षभित्रै जग्गा प्राप्ति र ठेक्का सम्झौता गरी कामलाई द्रुत गतिमा अगाडि बढाइएको हो । हालसम्म भवनको पहिलो र दोस्रो तलाको ढलान सम्पन्न भइरहेको छ भने वित्तीय तर्फ २० प्रतिशत प्रगति देखिएको छ । यो निर्माण कार्यले गति लिएसँगै स्थानीय स्तरमा आफ्नै सुविधासम्पन्न कार्यालयबाट सेवा पाउने आशा पलाएको छ ।
स्थानीय दाताहरूको निःस्वार्थ सहयोग यस भवन निर्माणको मुख्य मेरुदण्ड बनेको छ । स्थानीय कृर्तिनिधि शर्मा, रेनुका न्यौपाने, केशौराज न्यौपाने र सोभाखर न्यौपानेले निःशुल्क रूपमा उपलब्ध गराउनुभएको सात रोपनी सात आना दुई पैसा भन्दा बढी जग्गामा अहिले गाउँपालिकाको आधुनिक संरचना ठडिने क्रममा छ । स्थानीय पूर्वाधार विभागको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा सञ्चालित यो योजना ६ करोड २ लाख ६७ हजार ५ सय ९० रुपैयाँको लागतमा निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । उहाँले गेहेन्द्र लक्ष्मी निर्माण सेवा रिलायन्स इन्जिनियरिङ्ग एण्ड बिल्डर्स प्रालिले जिम्मा लिएको यस परियोजनालाई २०८४ भदौसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण व्यवसायी र स्थानीय प्रशासनबीचको प्रभावकारी समन्वयका कारण तोकिएको समय सीमाभित्रै काम सकिने बलियो आधार देखिएको छ ।
हाल आफ्नै व्यवस्थित भवन नहुँदा एउटै साँघुरो कोठाबाट धेरै शाखाहरूको कार्यसम्पादन गर्नुपर्ने र सेवाग्राहीलाई समेत सास्ती हुने अवस्था विद्यमान रहेको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार निर्माण भइरहेको साढे चार तलाको नयाँ भवन पूर्ण रूपमा अपाङ्गमैत्री हुनेछ, जसमा ३० वटा आधुनिक कार्यकक्ष, बैठक कक्ष र सभा हल रहनेछन् । यो भवन निर्माण सम्पन्न भएपछि पालिकाको कार्यसम्पादनमा गुणात्मक सुधार आउने र नागरिकले एकै थलोबाट सहज, छिटो र छरितो रूपमा सेवा प्राप्त गर्ने सुनिश्चितता हुने उहाँको भनाइ छ ।
प्रशासनिक कार्यलाई व्यवस्थित बनाउने पालिकाको उच्च प्राथमिकता र तीव्र निर्माणको गतिले रम्भाको विकास र सुशासनमा एउटा नयाँ इँटा थप्ने विश्वास गरिएको सूचना अधिकारी सुरज पाठकले बताउनुभयो । स्थानीय सरकार र समुदायको यो साझा प्रयत्नले संघीयताको वास्तविक लाभ नागरिकको घरदैलोसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ । (वैशाख ६ गते सोमबार करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित समाचार)







