समृद्धिको नयाँ आधार तय गर्न आर्थिक गणना सुरु

पाल्पा । मुलुकको आर्थिक ऐना मानिने ‘आर्थिक गणना’ को दोस्रो संस्करण पाल्पा जिल्लामा पनि रूपमा सुरु भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको नियमित कार्यक्रम अन्तर्गत बैशाख २ गते बुधबारदेखि जिल्लाभर यो अभियान औपचारिक रूपमा शुभारम्भ भएको हो । आगामी असार ७ गतेसम्म सञ्चालन हुने यस गणनाले जिल्लाको आर्थिक गतिविधिलाई अंक र तथ्यमा उतार्ने लक्ष्य राखेको जिल्ला आर्थिक गणना कार्यालय पाल्पाले जनाएको छ । गणना कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन जिल्लाभर ३४ जना गणक र ५ जना सुपरिवेक्षकको टोली परिचालन गरिएको छ । जसले जिल्लाका प्रत्येक वडा र टोलमा पुगेर तथ्याङ्क संकलन गर्न सुरु गरेका छन् ।

आर्थिक गणनाको मुख्य उद्देश्य जिल्लामा सञ्चालनमा रहेका सबै प्रकारका व्यवसाय, उद्योग, कलकारखाना, सेवा क्षेत्र तथा दर्ता भएका वा नभएका सम्पूर्ण आर्थिक एकाइहरूको वास्तविक अवस्था पहिचान गर्नु हो । यस प्रक्रियाले उत्पादन, रोजगारी, लगानी, आम्दानी र सेवा प्रवाह जस्ता महत्वपूर्ण पक्षहरूको यथार्थ तथ्याङ्क प्रस्तुत गर्नेछ । जिल्ला आर्थिक गणना अधिकारी केशव ज्ञवालीका अनुसार यसरी प्राप्त हुने तथ्याङ्कले स्थानीय तहदेखि संघीय सरकारसम्मलाई दीर्घकालीन योजना निर्माण, स्रोतको न्यायोचित व्यवस्थापन र आर्थिक नीतिमा परिमार्जन गर्न महत्वपूर्ण दिशाबोध गर्ने बताउनुभयो । उहाँले “यथार्थ तथ्याङ्क बिना विकासको सही मार्गचित्र बनाउन असम्भव रहेको“ उल्लेख गर्दै सबै व्यवसायी र सर्वसाधारणलाई सत्य र तथ्यमा आधारित विवरण उपलब्ध गराउन विशेष अनुरोध गर्नुभएको छ ।

विगतको तथ्याङ्कलाई हेर्दा, २०७५ सालमा सम्पन्न पहिलो आर्थिक गणनाका क्रममा पाल्पाका ८१ वटा वडामा ८ हजार ७०१ वटा दर्ता भएका तथा नभएका फर्महरू फेला परेका थिए । तर पछिल्लो समय बढेको व्यवसायिक सचेतना र बजार विस्तारका कारण यसपटक जिल्लामा आर्थिक एकाइहरूको संख्या करिब १० हजार पुग्ने अनुमान गरिएको छ । सहायक जिल्ला आर्थिक गणना अधिकारी लेखनाथ पाण्डेयले यो राष्ट्रिय अभियानलाई सफल बनाउन स्थानीय तह, सरोकारवाला निकाय र आम नागरिकको सक्रिय सहभागिता अनिवार्य रहेको बताउनुभयो । उहाँले गणकहरू घरदैलोमै आउँदा उनीहरूलाई सही सूचना दिएर सहयोग गर्न आग्रह गर्नुभयो ।

कतिपय व्यवसायीहरूमा तथ्याङ्क दिँदा कर वा अन्य प्रशासनिक भार पर्ने डर हुन सक्ने कुरालाई मध्यनजर गर्दै कार्यालयले संकलित सबै जानकारी पूर्ण रूपमा गोप्य रहने र ती विवरणहरू केवल तथ्याङ्कीय प्रयोजनका लागि मात्र प्रयोग हुने सहायक आर्थिक गणना अधिकृत पाण्डेयले बताउनुभयो । यस आर्थिक गणनाले जिल्लाको समग्र आर्थिक सम्भावनाको स्पष्ट मार्गचित्र देखाउने मात्र नभई, भविष्यमा रोजगारी सिर्जना, उद्यम प्रवद्र्धन र समग्र आर्थिक विकासमा कोसेढुङ्गा सावित हुने उहाँको भनाइ छ । त्यसैले आर्थिक भविष्यलाई सुदृढ बनाउन सम्बन्धित सबै पक्षले सहकार्य गर्दै सही तथ्याङ्क उपलब्ध गराउनु सबैको दायित्व रहेको कार्यालयले जनाएको छ । (बैशाख ३ गतेकाे करूवा अर्धसाप्ताहिकमा प्रकाशित समाचार)

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय