तिनाउका जनप्रतिनिधि र कर्मचारीका लागि क्षमता विकास तालिम

पाल्पा । तिनाउ गाउँपालिकाको आयोजना तथा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको प्राविधिक सहयोगमा जनप्रतिनिधि र कर्मचारीहरूका लागि तीन दिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।

स्थानीय सरकारको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने उद्देश्यले वैशाख ३ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको तालिममा गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारीहरु गरी ७१ जनाको सहभागिता रहेको प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताउनुभयो । उहाँले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा लागु गर्दा कार्यसम्पादन प्रभावकारी हुने बताउनुभयो ।

तालिममा सहभागीहरूको मनोबल उच्च बनाउन र कार्यशैलीमा सुधार ल्याउन सकारात्मक सोच, सन्तुलित आहारविहार र तनाव व्यवस्थापनका विषयमा प्रशिक्षक ऋषि न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।

यसका साथै स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशक श्रीकृष्ण श्रेष्ठले जनप्रतिनिधिहरूलाई योजनाको छनोट, प्राथमिकता निर्धारण, टोल तथा बस्ती स्तरका योजनाहरूको पहिचान, र वार्षिक बजेट तथा कार्यक्रम तर्जुमाका विभिन्न चरणका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

प्रतिष्ठानका उप–निर्देशक गजेन्द्र वाग्ले र व्यवस्थापन अधिकृत योगमाया सापकोटाले स्थानीय तहका असल अभ्यासहरू, उपभोक्ता समिति मार्फत गरिने निर्माण खरिद प्रक्रिया र वडा तथा गाउँपालिकाले अपनाउनुपर्ने उत्कृष्ट कार्यविधिहरूका बारेमा सहजीकरण गर्नुभएको थियो ।

कर्मचारीहरूको व्यावसायिक दक्षता अभिवृद्धिका लागि वरिष्ठ प्रशिक्षक दिनेश लम्सालले सार्वजनिक खरिद व्यवस्थापन र टिप्पणी लेखन जस्ता प्रशासनिक विषयमा सहजीकरण गर्नुभएको थियो । सरकारी कामकाजलाई कानुनसम्मत र त्रुटिरहित बनाउन टिप्पणी लेखन र खरिद प्रक्रियाको ज्ञान अनिवार्य रहेको उहाँको भनाइ थियो ।

तालिमको अवसरमा गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले यस्ता कार्यक्रमले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई सुमधुर बनाउनुका साथै कार्यसम्पादनमा स्पष्टता ल्याउने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले तालिमले गाउँपालिकाको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन मद्दत गर्ने उल्लेख गर्नुभयो । उहाँले जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास हुनु भनेको अन्ततः नागरिकले पाउने सेवा गुणस्तरीय हुनु बताउनुभयो । तालिमबाट प्राप्त सिकाइले आगामी दिनमा योजना तर्जुमादेखि कार्यान्वयनसम्मको चरणमा सकारात्मक परिवर्तन ल्याउनेछ र गाउँपालिकालाई नमूना बनाउन सहयोग पुग्ने अध्यक्ष श्रेष्ठको भनाइ थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय