
पाल्पा । कुनै समय नेपाली समाजमा “धेरै सन्तान, ईश्वरको वरदान“ भन्ने मान्यता व्याप्त थियो । वि.सं. २०१६ मा नेपाल परिवार नियोजन संघको स्थापना हुँदा प्रजनन् स्वास्थ्य र परिवार नियोजनका कुरा गर्नु सामाजिक वर्जना मात्र थिएन, एक चुनौतीपूर्ण साहसिक कदम थियो । ६५ वर्षपछि फर्किएर हेर्दा, नेपालीको औसत आयुमा भएको वृद्धि, शिशु तथा मातृ मृत्युदरमा आएको उल्लेख्य कमी र साना तथा सुःखी परिवारको अवधारणा स्थापित हुनुमा यस संघको योगदान अतुलनीय छ ।
अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघको सदस्यका रूपमा यसले विना भेदभाव यौन तथा प्रजनन् स्वास्थ्यलाई मानव अधिकारको रूपमा स्थापित गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । नेपालमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रमा निरन्तर नेतृत्व गर्दै आएको नेपाल परिवार नियोजन संघ ६५ वर्षको अनुभव, सेवा र विश्वासको धरोहर बोकेर अगाडि बढिरहेको संस्था हो । सन् १९५९ मा स्थापना भएको यो संस्था अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघको सदस्यका रूपमा नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सेवा, शिक्षा र अधिकारका लागि अग्रणी भूमिकामा रहँदै आएको छ ।
“सबै व्यक्तिले आफ्नो यौनिकता र प्रजनन स्वास्थ्यसम्बन्धी निर्णय स्वतन्त्र रूपमा लिन पाउने समानतामूलक समाज निर्माण” यसको दृष्टिकोण हो भने सीमान्तकृत र जोखिममा रहेका समुदायलाई प्राथमिकतामा राख्दै सेवा, वकालत र सशक्तिकरण गर्नु यसको मुख्य ध्येय रहेको छ । पाल्पा जिल्लामा वि.सं. २०५४ सालदेखि सेवा विस्तार गरेको संघको शाखाले जिल्लाभर यौन तथा प्रजनन स्वास्थ्य सेवा पहुँच विस्तारमा उल्लेखनीय योगदान पु¥याएको छ । तानसेनस्थित परिवार स्वास्थ्य केन्द्र, माथागढीको कसेनी र बगनासकालीको बराङ्दीमा सञ्चालित क्लिनिकमार्फत नियमित सेवा प्रवाह भइरहेको छ । सामुदायिक परामर्शदाता र स्वयंसेविकामार्फत घरदैलोमै सेवा पु¥याउने प्रयासले ग्रामीण क्षेत्रमा पनि पहुँच विस्तार भएको देखिन्छ ।
संघले परिवार नियोजन, सुरक्षित गर्भपतन, स्त्रीरोग उपचार, एचआईभी परीक्षण तथा प्रेप सेवा, किशोरमैत्री स्वास्थ्य सेवा, पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार, ल्याब सेवा, यौन रोग उपचारदेखि लैङ्गिक हिंसा परामर्शसम्मका बहुआयामिक सेवा प्रदान गर्दै आएको छ । विशेषगरी सीमान्तकृत, विपन्न, अपाङ्गता भएका तथा पहुँचबाट वञ्चित समुदायलाई लक्षित सेवा यसको मुख्य विशेषता बनेको शाखा प्रबन्धक सेवाकान्त न्यौपानेले बताए । उनका अनुसार संघले “सेवा मात्र नभई व्यवहार परिवर्तन, सचेतना र अधिकारको सुनिश्चितता” लाई केन्द्रमा राखेर काम गरिरहेको छ । उहाँ भन्नुहुन्छ, “हामीले सेवा पु¥याउने मात्र होइन, मानिसलाई सही निर्णय लिन सक्षम बनाउने काम पनि गरेका छौं । तर अहिले दातृ निकायबाट आउने सहयोग क्रमशः घट्दै गइरहेको छ, जसले सेवा विस्तारमा चुनौती थपेको छ ।”
कोषाध्यक्ष माधवप्रसाद अर्यालका अनुसार संघको सेवा प्रभावकारी भए पनि वित्तीय स्रोतको अभाव गम्भीर समस्याका रूपमा देखिएको छ । “स्थानीय तहबाट यौन तथा प्रजनन् स्वास्थ्य कार्यक्रममा पर्याप्त बजेट विनियोजन नहुँदा आउटरिच, मोबाइल क्याम्प र विद्यालयस्तरीय कार्यक्रमहरू सीमित हुन पुगेका छन्,” उहाँले भन्नुभयो, “यदि स्थानीय सरकारले सहकार्य गरेर बजेट सुनिश्चित गरिदियो भने सेवा अझै प्रभावकारी बनाउन सकिन्छ ।”
संघको अनुभव, प्रविधि र दक्ष जनशक्तिलाई स्थानीय सरकारसँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो । “हामीसँग अनुभव छ, दक्ष जनशक्ति छ, प्रविधि छ । तर, स्रोत अभाव छ । स्थानीय सरकारले सहकार्य गरेमा यो सबैलाई अधिकतम प्रयोग गरेर नागरिकलाई गुणस्तरीय सेवा दिन सकिन्छ,” संघका अध्यक्ष सुशील शाक्यले भन्नुभयो ।
तथ्यांकले पनि संघको प्रभावकारिता स्पष्ट देखाउँछ । सन् २०२४ र २०२५ मा मात्रै २ लाखभन्दा बढी सेवाग्राहीले विभिन्न सेवा लिएका छन् । परिवार नियोजन, स्त्रीरोग, एचआईभी, मातृ तथा शिशु स्वास्थ्य, यौनजन्य रोग, सुरक्षित गर्भपतन लगायतका सेवामा हजारौं नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । यसले संघले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको स्पष्ट संकेत गर्छ ।
तर, चुनौतीहरू पनि उत्तिकै छन् । ग्रामीण क्षेत्रमा सेवा पहुँच अझै असमान छ । प्रशिक्षित जनशक्तिको अभाव, सामाजिक वर्जना, बालविवाह, लैङ्गिक विभेद जस्ता व्यवहारगत समस्या कायम छन् । यौन तथा प्रजनन स्वास्थ्यबारे खुला संवाद गर्न समाज अझै तयार नभएको अवस्था रहेको शाखा प्रबन्धक न्यौपानेले बताउनुभयो ।
यस्तो अवस्थामा स्थानीय सरकारसँगको सहकार्य अपरिहार्य बन्दै गएको छ । विशेषगरी किशोर स्वास्थ्य, लैङ्गिक हिंसा न्यूनीकरण, क्यान्सर स्क्रिनिङ, मोबाइल स्वास्थ्य सेवा जस्ता क्षेत्रमा सह–लगानी मोडेल अपनाउन आवश्यक देखिन्छ । स्थानीय तहहरूले वार्षिक बजेटमा यौन तथा प्रजनन स्वासथ्य कार्यक्रमलाई प्राथमिकता दिनु, विद्यालयमा किशोरमैत्री सेवा विस्तार गर्नु, दुर्गम क्षेत्रमा मोबाइल क्याम्प सञ्चालन गर्नु, अपाङ्गता भएका व्यक्तिका लागि समावेशी सेवा विकास गर्नु आजको आवश्यकता हो । संघ जस्ता अनुभवी संस्थालाई प्राविधिक साझेदारका रूपमा उपयोग गर्न सकेमा नीति कार्यान्वयन अझ प्रभावकारी बन्न सक्ने उहाँले बताउनुभयो ।
नेपाल सरकारले दिगो विकास लक्ष्य अन्तर्गत मातृ मृत्युदर घटाउने, शिशु स्वास्थ्य सुधार गर्ने, क्यान्सर रोकथाम गर्ने र किशोर स्वास्थ्य सुदृढ गर्ने लक्ष्य लिएको सन्दर्भमा संघ जस्ता संस्थाको भूमिका अझ महत्वपूर्ण हुने नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष मुक्ति प्रसाद न्यौपानेले बताउनुभयो । उहाँले संघले बनाएको आधारलाई स्थानीय सरकारले संस्थागत गर्नुपर्ने बताउनुहुन्छ । दातृ सहयोगमा मात्र निर्भर रहने अवस्था अब दीर्घकालीन समाधान होइन । स्थानीय सरकार, संघ र अन्य साझेदारबीचको समन्वय, सहकार्य र सह–लगानीबाट मात्र सेवा दिगो र प्रभावकारी बनाउनुपर्नेमा उपाध्यक्ष न्यौपानेले जोड दिनुभयो ।
नेपाल परिवार नियोजन संघले विगत ६५ वर्षमा नेपाली समाजमा यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याएको छ । अब यो उपलब्धिलाई जोगाउँदै अझ विस्तार गर्न स्थानीय सरकारको सक्रिय भूमिका, पर्याप्त बजेट र रणनीतिक सहकार्य अनिवार्य भइसकेको सरोकारवालको भनाइ छ ।
संघल पछिल्लो समय तानसेनस्थित परिवार स्वास्थ्य केन्द्रमार्फत नियमित रूपमा सम्पूर्ण प्रकारका आधुनिक परिवार नियोजन साधनहरूको वितरण, १२ हप्तासम्मको सुरक्षित गर्भपतन सेवा तथा औषधि र उपकरण विधिबाट सेवा प्रदान गर्दै आएको छ । साथै, किशोर–किशोरी तथा युवालाई लक्षित गरी किशोर–किशोरी मैत्री सेवा केन्द्रको रूपमा स्थापना भई नियमित परामर्श तथा आवश्यक साधनहरूको उपलब्धता सुनिश्चित गरिएको शाखा सभापति शाक्यले बताउनुभयो ।
यसका अतिरिक्त, बाँझोपन सम्बन्धी उपचार तथा परामर्श, पिसाब सम्बन्धी समस्याको उपचार, यौन रोगहरूको उपचार, एचआईभी÷एड्स संक्रमणबाट बच्नका लागि एचभ्ए सेवा अन्तर्गत निःशुल्क परीक्षण तथा संक्रमितहरूको उपचारका लागि नियमित रूपमा प्रेषण (रेफरल) सेवा प्रदान गरिँदै आएको छ । संघको पाल्पा शाखाले अपाङ्गता भएका, अशक्त तथा विपन्न व्यक्तिहरूलाई आवश्यक प्रजनन स्वास्थ्य सेवा घरदैलोमै पुगी प्रदान गर्दै आएको छ, । जसले सेवाग्राही लक्षित एकीकृत प्रजनन स्वास्थ्य कार्यक्रमलाई प्राथमिकता दिएको देखिन्छ । साथै, शाखाबाट नियमित रूपमा लैङ्गिक हिंसा सम्बन्धी परामर्श तथा प्रेषण सेवा पनि सञ्चालनमा रहेको छ ।
पाल्पा शाखाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि भिआईए परीक्षण, एचपिभी डिएनए परीक्षण तथा प्रारम्भिक अवस्थामै उपचार सेवा प्रदान गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ । दीर्घकालीन परिवार नियोजन साधनहरूलाई प्राथमिकता दिँदै सेवा विस्तार गरिएको छ भने सहुलियत दरमा प्रयोगशाला सेवा तथा नियमित रूपमा चिकित्सक मार्फत तानसेन तथा स्याटेलाइट क्लिनिकमार्फत विभिन्न गाउँपालिका र नगरपालिकासँग सहकार्य गरी सेवा प्रदान गरिँदै आएको शाखा प्रबन्धक न्यौपानेले बताउनुभयो ।
आगामी वर्ष तानसेन नगरपालिकासँग सहकार्य गरी वडा नं. ६ मा “ख” वर्गको एम्बुलेन्स सेवा सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइएको उनले बताए । जसका लागि प्रदेश स्वास्थ्य मन्त्रालयमा आवश्यक प्रक्रिया अघि बढिसकेको छ । शाखाले आगामी वर्ष विशेष सेवा काउन्टर सञ्चालन गरी विशेषज्ञ चिकित्सकमार्फत स्त्रीरोग, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवाहरू विस्तारित रूपमा प्रदान गर्ने योजना अघि सारेको शाखाले जनाएको छ ।
शाखाले आगामी वर्ष बिहान तथा सन्ध्याकालीन सेवा काउन्टर सञ्चालन गरी विशेषज्ञ चिकित्सक मार्फत स्त्रीरोग, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवाहरू विस्तारित क्लिनिकमार्फत प्रदान गर्ने योजना बनाएको छ। साथै, युवा, कामकाजी महिला तथा पुरुष र कर्मचारी वर्गलाई लक्षित सेवाहरूलाई प्राथमिकतामा राख्दै सहज र पहुँचयोग्य सेवा प्रवाह गर्ने लक्ष्य लिएको छ ।
समुदायमा प्रजनन स्वास्थ्य सेवासम्बन्धी सूचना विस्तार गर्न सञ्चार क्षेत्रसँग समन्वय गरी सूचित सेवा छनोटलाई प्राथमिकतामा राखिएको छ । साथै, युवा तथा किशोर–किशोरीहरूका लागि व्यापक यौनिकता शिक्षा ऋक्भ् विस्तार गर्ने उद्देश्यले विद्यालय तथा कलेजहरूमा साथी शिक्षा समूह गठन गरी युवामैत्री कार्यक्रमहरू सञ्चालन तथा विस्तार गरिएको छ । यस वर्ष उक्त कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकारहरूसँग समन्वय गरी बजेट विनियोजनका लागि पहल गरिएको छ ।







