
पाल्पा । न्यू होराइजन आवासीय माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह ‘आइएसओ’ लोगो प्राप्त गरेको छ । तानसेन–७, काजीपौवा विद्यालय परिसरमा आयोजित एक विशेष समारोहका बीच विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड अनुसारको ’लोगो’ र प्रमाण–पत्र हस्तान्तरण गरिएको हो ।
काउन्सिलले प्रदान गरेको लोगो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मलप्रसाद लाकौल, संस्थापक लोकनाथ उपाध्याय र प्रधानाध्यापक डाँसुराम पन्तले संयुक्तरुपमा ग्रहण गर्नुभएको थियो । उहाँहरुले शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्धले नै यसलाई सार्थक बनाएको बताउनुभयो ।
अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड काउन्सिल नेपालका व्यवस्थापक सुदिप शर्माले निर्धारित २५ प्रतिशत निर्देशन र विभिन्न सूचकहरू सफलतापूर्वक पूरा गरेपछि विद्यालयलाई उक्त अन्तर्राष्ट्रिय पहिचान प्रदान गरिएको बताउनुभयो । उहाँले विश्वव्यापी छाता संगठनको रूपमा रहेको काउन्सिलले पेशागत व्यवस्थापन र संस्थागत गतिविधिमा एकरूपता ल्याउने संस्थाहरूलाई मात्र यस्तो लोगो प्रदान गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले आइएसओ लोगो प्राप्त गर्नु तानसेनकै गौरवको विषय भएको बताउनुभयो । “अन्तर्राष्ट्रिय लोगो प्राप्त गर्नु मात्र ठूलो कुरा होइन, यसको गरिमा र मर्म अनुसारका शैक्षिक गतिविधि सञ्चालन गर्नु मुख्य दायित्व हो,“ नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “यो तानसेन नगरपालिकाको पनि सम्पत्ति हो, त्यसैले विद्यालयले यसको ओज कायम राख्दै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ ।“
शिक्षा तथा समन्वय एकाइ पाल्पाका शिक्षा अधिकृत बसन्तराज भट्टले थुप्रै कठिन प्रक्रिया र सूचकहरू पूरा गरेपछि मात्र लोगो र प्रमाण–पत्र पाइने उल्लेख गर्दै संस्थागत विद्यालयको क्षेत्रमा न्यू होराइजनले अब्बल दर्जा कायम गरेकोमा शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा बुटवल न्यू होराइजन इन्स्टिच्युटका संस्थापक प्राचार्य एवं विद्यालयका सल्लाहकार लोकनाथ उपाध्यायले पाल्पाबाट गुणस्तरीय शिक्षाका लागि हुने गरेको बसाइँसराइ र पूँजी पलायन रोक्न आइएसओ मान्यताले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामी केवल नाफाका लागि होइन, समाजका लागि अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्न प्रतिबद्ध छौँ ।







