
पाल्पा । मध्यपूर्वमा जारी युद्धको बाह्य प्रभाव र आन्तरिक बजारको अस्थिरताका कारण निर्माण सामग्रीमा भएको अनियन्त्रित मूल्यवृद्धिले पाल्पाका निर्माण आयोजनाहरू ठप्प हुने स्थितिमा पुगेको निर्माण व्यवसायी संघ पाल्पाले जनाएको छ ।
संघले सोमबार पत्रकार सम्मेलनमा वर्तमान परिस्थितिलाई ‘निर्माण आपतकाल’ को संज्ञा दिएको छ । इन्धन, अलकत्र, सिमेन्ट र फलामजन्य सामग्रीमा भएको अप्रत्याशित मूल्यवृद्धिले व्यवसायीहरू टाट पल्टिने अवस्था आएकोले व्यवसायीलाई म्याद थपको व्यवस्थामा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराइएको संघका अध्यक्ष दामोदर गैरेले बताउनुभयो । उहाँले डिजेल, पेट्रोल र मट्टितेल जस्ता इन्धनजन्य पदार्थमा पटक–पटक भइरहेको वृद्धिले ढुवानी र उत्पादन लागतलाई थेग्नै नसकिने बिन्दुमा पु¥याएको बताउनुभयो । “एकातिर मूल्य आकाशिएको छ भने अर्कोतिर क्रसर उद्योगमा देखिएका समस्याले गर्दा निर्माण सामग्रीको चरम अभाव सिर्जना भएको छ,“ अध्यक्ष गैरेले बताउनुभयो ।
यस्तो विषम परिस्थितिमा काम सुचारु राख्न सम्भव नभएको संघका वरिष्ठ उपाध्यक्ष विष्णुबहादुर कार्कीले बताउनुभयो । उहाँले त्यसैले सरकारले तत्काल ‘निर्माण आपतकाल’ घोषणा गरी व्यवसायीलाई राहत दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा महासचिव राजेन्द्र के.सी.ले मूल्यवृद्धिका कारण जिल्लाका ठूला योजनाहरुको काम रोक्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले विद्यमान कानूनी व्यवस्थाबाट मात्रै वर्तमान संकट समाधान नहुने बताउदै सरकारले तुरुन्तै मूल्य समायोजन मार्ग निर्देशिका जारी गर्नुपर्नेमा जोड दिनुभयो । यदि सरकारले यी मागहरूलाई बेवास्ता गरेमा जिल्लाभरका निर्माण कार्यहरू पूर्ण रूपमा रोकिने महासचिव के.सी. को भनाइ छ ।
सो अवसरमा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले विकास निर्माणका काम रोकिँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारण र राज्यको पुँजीगत खर्चमा पर्ने धारणा राख्नुभयो । उहाँले व्यवसायीका जायज मागहरूलाई सम्बोधन गर्न र विकासको गतिलाई अवरुद्ध हुन नदिन सरकार र सरोकारवाला निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।







