
पाल्पा । माथागढी गाउँपालिकाले दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइ ८ नं. वडा बहादुरपुरमा सम्पन्न गरेको छ । गाउँपालिकाको सेवालाई प्रभावकारी बनाउँन गाउँस्तरमै नागरिकका गुनासा, सुझाव र अपेक्षा संकलनका लागि स्थानीय सरकार र नागरिकबीच प्रत्यक्ष संवाद गर्ने उद्देश्यले शुक्रबार बहादुरपुरमा सार्वजनिक सुनुवाइ गरिएको हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले चालु आर्थिक वर्ष २०८२÷८३ को हालसम्म सम्पन्न भएका योजनाहरूको प्रगति विवरण प्रस्तुत गर्दै सीमित स्रोत र साधनका बाबजुद नागरिकका असीमित आवश्यकतालाई प्राथमिकताका आधारमा क्रमिक रूपमा सम्बोधन गर्दै आएको बताउनुभयो । उहाँले गाउँमै सार्वजनिक सुनुवाइ आयोजना गर्दा नागरिकको पहुँच बढ्ने, पारदर्शिता कायम हुने र जनप्रतिनिधि तथा कर्मचारीप्रति विश्वास अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
यस्तैगरी सहजीकरण संस्था सञ्चार मञ्च पाल्पाका संस्थापक अध्यक्ष माधवप्रसाद अर्यालले नागरिक प्रतिवेदन तथा बर्हिगमन प्रतिवेदन प्रस्तुत गर्दै सेवा प्रवाहको गुणस्तर, पारदर्शिता र उत्तरदायित्वका पक्षमा नागरिकले उठाएका प्रश्न, जिज्ञाशा र सुधार गर्नुपर्ने विषयहरु बारे जानकारी गराउनुभएको थियो ।
सुनुवाइमा सहभागी स्थानीयले रमिते भिर लगायतका टोलमा सडक स्तरोन्नति, वडामा उच्च माध्यमिक तहसम्म अध्ययनको व्यवस्था, बालविकास सहजकर्ताको व्यवस्थापन, लिफ्टिङ खानेपानी योजनाको सम्पन्नता, योजनाको समतामूलक छनोट, टेलिफोन तथा इन्टरनेट सेवा विस्तार, सर्वोत्तम सिमेन्ट क्षेत्रमा चल्ने टिपरको नियमन तथा एक्स–रे सेवा विस्तार गर्नुपर्ने विषयको माग राखेका थिए ।
कार्यक्रममा उठेका प्रश्न र जिज्ञासामा शिक्षा शाखा प्रमुख प्रकाश पाठक, स्वास्थ्य शाखा प्रमुख केशव जिसीले विषयगत रुपमा प्राप्त प्रश्नको जवाफ दिनुभएको थियो ।
यस्तैगरी कार्यक्रममा ८ नं. वडाका वडाध्यक्ष डिलबहादुर ढेंगाले प्रत्येक टोलबाट योजना संकलन गरी प्राथमिकताका आधारमा छनोट गरिएको बताउँदै सीमित बजेटका कारण सबै माग तत्काल सम्बोधन गर्न नसकिएको स्वीकार गर्नुभयो । साथै, सर्वोत्तम सिमेन्ट क्षेत्रमा देखिएको टिपर आतंक समाधानका लागि पालिकाले पहल गरिदिन आग्रह समेत गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङ्चेले सार्वजनिक सुनुवाइ नागरिक र सरकारबीचको सेतु भएको उल्लेख गर्दै राम्रा कामको हौसला र कमजोरीमा सुझाव प्राप्त हुनु सकारात्मक पक्ष भएको बताउनुभयो । उहाँले घुम्ती रूपमा गाउँगाउँमा सुनुवाइ सञ्चालन गर्दा सेवा सुधारमा ठोस सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले पारदर्शिता, सुशासन र जवाफदेहितालाई प्राथमिकतामा राख्दै नियमित रूपमा सार्वजनिक सुनुवाइ सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार शिक्षा, स्वास्थ्य, सडक, कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । रमिते भिरको साँघुरो सडक स्तरोन्नतिका लागि संघ र प्रदेशसँग समन्वय भइरहेको भए पनि काम अपेक्षित रूपमा अघि बढ्न नसकेको भन्दै थप पहल गरिने बताउनुभयो ।







