
पाल्पा । विद्यार्थीको चौतर्फी विकास र भाइचारको सम्बन्ध दिगो बनाउन स्थानीय स्काउट तानसेनले ‘प्रथम मित्रता क्याम्प’ सम्पन्न गरेको छ ।
तानसेन नगरपालिकाको आर्थिक सहयोगमा तानसेन ७ नं. वडा, सुन्दरगाउँमा रहेको सरस्वती माध्यमिक विद्यालयमा चैत २६ देखि २८ सम्म क्याम्प सञ्चालन भएको हो । जसबाट माध्यमिक तहका विद्यार्थीहरूमा नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना जागृत गराउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ ।
क्याम्पमा नगरभित्रका २५ वटा माध्यमिक विद्यालयका दुई सय विद्यार्थी र शिक्षकहरूको सहभागिता रहेको थियो । क्याम्पमा विद्यार्थीहरूलाई स्काउटिङका आधारभूत सिद्धान्त, साहसिक खेलकुद, जीवनोपयोगी सीप तथा शारीरिक र मानसिक विकासका विविध क्रियाकलापहरूमा अभ्यस्त गराइएको मुख्य प्रशिक्षक सत्यनारायण शाहीले बताउनुभयो । क्याम्पको दोस्रो दिन आयोजित ‘शिवरागिनी सत्र’ मा सहभागी विद्यार्थीहरूले मौलिक सांस्कृतिक प्रस्तुतिहरू मार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्दै भाइचाराको सम्बन्धलाई थप प्रगाढ समेत बनाएका थिए ।
कार्यक्रममा स्काउटका संरक्षक तथा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले विद्यार्थीहरूलाई असल नागरिक बनाउन स्काउटको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरूमा अनुशासन, सामुहिक भावना र संकटको समयमा निर्वाह गर्नुपर्ने दायित्वबोध गराउन सफल हुने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले शिक्षाको गुणस्तरसँगै विद्यार्थीको चौतर्फी विकासका लागि यस्ता रचनात्मक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने र थप विस्तार गर्दै लैजाने योजना बनाएको नगर प्रमुख श्रेष्ठको भनाइ थियो ।

नेपाल स्काउट राष्ट्रिय परिषद् सदस्य जीवन आचार्यले क्याम्पको मुख्य उद्देश्य नै स्काउट मार्फत विद्यार्थीमा सेवाभाव र मित्रताको भावना विकास गर्नु रहेको बताउनुभयो । उहाँले तीन दिने यस क्याम्पले विद्यार्थीहरूमा केवल सैद्धान्तिक ज्ञान मात्र नभई व्यावहारिक जीवनका लागि आवश्यक पर्ने धैर्यता र सामूहिक कार्यको महत्वका विषयमा ज्ञान प्राप्त गर्ने बताउनुभयो ।
त्यसैगरी प्रमुख आयुक्त माधव खनालले स्काउटको मर्म र उद्देश्यमाथि प्रकाश पार्दै मित्रता क्याम्पले विभिन्न विद्यालयका विद्यार्थीहरूबीच अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको बताउनुभयो । उहाँका अनुसार क्याम्पमा सिकाइएका साहसिक खेल र सीपले विद्यार्थीको आत्मविश्वास बढाउन र प्रतिकुल समयमा निर्णय लिन सक्षम बनाउन सहयोग पुग्ने बताउनुभयो ।







