पूर्वखोलाका ६० नागरिकले गाउँमै पाए नयाँ दृष्टि

पाल्पा । पूर्वखोला गाउँपालिकाका ६० जना नागरिकले गाउँमै नयाँ दृष्टि पाएका छन् । गाउँपालिकाको आयोजना तथा पाल्पा लायन्स लाकोल आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित मोतियाविन्दुको निःशुल्क शल्यक्रियापछि उनीहरूले पुनः दृष्टि प्राप्त गरेका हुन् ।

चैत्र ९ गतेदेखि १८ गतेसम्म दुई चरणमा वडामा सञ्चालित शिविरमा एक हजार ९३ जनाको आँखा परीक्षण गर्दा फेला परेका ९२ जना बिरामीका लागि चैत्र २४ र २५ गते रिङनेरह स्वास्थ्य चौकीमा आयोजना गरिएको शल्यक्रिय शिविरमा ६० जनाले सेवा लिएका हुन ।

वर्षौँदेखि धमिलो संसार हेर्न बाध्य स्थानीय नागरिकहरू गाउँमै विशेषज्ञ डाक्टरबाट शल्यक्रिया गराई पट्टी खोल्दा पुनः स्पष्ट देख्न सक्ने भएपछि खुसी भएका छन् । शल्यक्रियापछि उज्यालो संसार देख्न पाउँदा कतिपयले स्थानीय सरकार आएको बल्ल महसुस भएको बताए ।

गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले नागरिकलाई अन्धोपनको जोखिमबाट जोगाउन घरदैलोमै सेवा पु¥याउन पालिका क्रियाशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ग्रामीण भेगका विपन्न नागरिकहरू अस्पतालसम्म पुग्न नसकेर अँध्यारोमा बस्नुपर्ने बाध्यता थियो । आज उहाँहरूले पुनः दृष्टि पाउँदा गाउँपालिकाले अभिभावकको भूमिका निभाएको महसुस गरेका छौँ ।“ नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न स्वास्थ्य सेवालाई वडा तहसम्मै विस्तार गरिएको अध्यक्ष थापाको भनाइ छ ।

त्यस्तैगरी प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले गाउँपालिकाले स्वास्थ्यका लागि विनियोजन गरेको बजेट र मेहनतको सही सदुपयोग भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले व्यवस्थापकीय पक्षलाई बलियो बनायौँ, जसका कारण झन्डै ११ सय नागरिकले सेवा लिन सफल भएको बताउनुभयो । यो सफलताले आगामी दिनमा पनि यस्ता मानवीय सेवाका काम गर्न हामीलाई हौसला मिलेको प्रमुख प्रशसकीय अधिकृत नेपालले बताउनुभयो ।

स्वास्थ्य शाखा प्रमुख मोहन ढकालका अनुसार उमेर बढ्दै जाँदा हुने मोतियाविन्दु नै नेपालमा अन्धोपनको मुख्य कारण बनेको बताउनुभयो । उहाँले शल्यक्रियाको प्रभावकारिता प्रष्ट पार्दै भन्नुभयो, “उमेरले आँखा धमिलो हुने समस्या मोतियाविन्दु नै हो । समयमै शल्यक्रिया गरे यो पूर्ण रूपमा निको हुने भएकोले शल्यक्रिया शिविर आयोजना गरिएको प्रमुख ढकालले जानकारी दिनुभयो । उहाँले शिविरमा शल्यक्रियादेखि चश्मा र औषधिसमेत निशुल्क वितरण गरिएको जानकारी दिनुभयो ।

सम्बन्धित खवर