परिवार नियोजन सेवा बारे अन्तरक्रिया

पाल्पा । नेपाल परिवार नियोजन संघ, पाल्पा शाखाले पत्रकार तथा सरोकारवालासँग परिवार नियोजन सेवा बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संघले विगत दुई वर्षमा प्रवाह गरेको सेवा, प्रगति, समस्या तथा चुनौतीका विषयमा जानकारी गराउँदै आगामी कार्यक्रमका विषयमा जानकारी गराएको हो ।

कार्यक्रममा शाखा प्रवन्धक सोवाकान्त न्यौपानेले संघले प्रजनन् स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गर्नुभयो । उहाँका अनुसार परिवार स्वास्थ्य केन्द्रसहित विभिन्न गाउँपालिकामा सञ्चालन गरिएका क्लिनिक र समुदायस्तरका कार्यक्रममार्फत हजारौं सेवाग्राहीले लाभ लिएको बताउनुभयो । सन् २०२४ र २०२५ मा मात्रै दुई लाखभन्दा बढीले विभिन्न स्वास्थ्य सेवा तथा रेफरल सुविधा प्राप्त गरेको जानकारी दिँदै शाखा प्रवन्धक न्यौपानेले सेवा विस्तार भए पनि जनचेतना, स्रोत अभाव र पहुँचका चुनौती अझै विद्यमान रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख काशिका गैरे ज्ञवालीले प्रजनन् स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्य संस्था र संघबीच समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले घट्दो जन्मदर, बदलिँदो सामाजिक संरचना र युवापुस्ताको आवश्यकता अनुसार सेवा उपलब्ध गराउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलले संघले सरकारी स्वास्थ्य प्रणालीलाई सहयोग पु¥याएको बताउनुभयो । सुरक्षित प्रजनन् सेवामा पहुँच र निरन्तरतामा संघले गरेको कामको प्रशंसा गर्दै उहाँले विशेषगरी दुर्गम क्षेत्रमा सेवा लैजान संघले स्वास्थ्य कार्यालयसंग समन्वयात्मक भूमिका खेल्दै आएको बताउनुभयो ।

संघका अध्यक्ष शुशील शाक्यले परिवार नियोजन सेवाको आवश्यकता अझ बढ्दै गएको बताउँनुभयो । उहाँले सीमित स्रोतबाट पनि आफूहरुले प्रभावकारी रुपमा काम गर्दै आएको बताउदै यो काममा स्थानीय सरकारको सहयोग प्राप्त हुन नसकेको गुनासो गर्नुभयो ।

संघका कोषाध्यक्ष माधवप्रसाद अर्यालले सेवा विस्तारसँगै वित्तीय व्यवस्थापन र स्रोतको दीगो उपयोगमा समस्या देखिएको बताउनुभयो । उहाँले आफ्ना नागरिकहरुको सुरक्षित प्रजनन् स्वास्थ्यका विषयमा स्थानीय सरकारहरु गम्भीर बन्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले सञ्चार माध्यमले जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै प्रजनन् स्वास्थ्य र परिवार नियोजनका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागीहरूले परिवार नियोजन सेवाको प्रभावकारिता बढाउन स्थानीय आवश्यकता अनुसार कार्यक्रम सञ्चालन, सेवा पहुँच विस्तार, जनचेतना अभिवृद्धि तथा सरोकारवालाबीच सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय