
पाल्पा । “जहाँबाट आतिथ्यको सुरुवात हुन्छ“ भन्ने मूल नाराका साथ नेपाली भाषा, संस्कृति र रैथाने खानाको संरक्षणमा लागेको होटल पौवा प्रालिले आफ्नो १० औँ वार्षिकोत्सवको अवसरमा ‘स्वाद उत्सव’ गर्ने लागेको जनाएको छ । देशभरका २० वटै शाखामा स्वाद उत्सव मनाउने तयारी रहेको प्रालिले जनाएको छ ।
वार्षिकोत्सवका सन्दर्भमा होटल पौवाको तानसेन शाखाले पत्रकार सम्मेलन गरी चैत्र २५ गते रक्तदान कार्यक्रम गर्ने र चैत्र २६, २७ र २८ गते तीन दिनसम्म स्वाद उत्सव सञ्चालन हुने होटलका पाल्पा शाखा प्रबन्धक यदु भट्टराईले जानकारी दिनुभयो । उहाँले पाल्पाली आतिथ्यता र विशेष अर्गानीक स्वादको अनुभव दिलाउन सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो ।
उत्सवमा विशेष परिकार र नेपाली रैथाने स्वादका ६ प्रकारका मेनुहरू रहने लेखापाल सन्जु कार्कीले बताउनुभयो । उहाँले पाल्पामा हुने स्वाद उत्सवले यहाँको स्थानीय पर्यटन र मौलिक खानाको प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास लिइएको बताउनुभयो ।
रुपन्देहीको सालझण्डीस्थित सात कोठाको सानो घरबाट यात्रा सुरु गरेको होटल पौवाको हाल देशभर झण्डै १००० कर्मचारी र २५० भन्दा बढी लगानीकर्ता सहभागी रहेका छन् । वार्षिकोत्सवको विशेष अवसरमा कम्पनीले चैत्र २८ गते भैरहवा शाखामा ‘बतायौँ बालापन’ अवधारणामा लगानी सम्मेलन समेत आयोजना गर्दैछ । ’मिसन १००’ को लक्ष्यसहित अघि बढेको पौवाले यस उत्सवमार्फत ४० हजारभन्दा बढी निमन्त्रणा पत्र वितरण गरेको छ । होटलले सम्पूर्ण ग्राहक तथा सरोकारवालालाई यस उत्सवमा सहभागी भई नेपाली स्वाद र अद्वितीय आतिथ्यको अनुभव लिन निमन्त्रणा समेत गरेको छ ।







