
पाल्पा । पाल्पा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सन्दीप रानाले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष ३१ बुँदे माग प्रस्तुत गर्दै लुम्बिनी प्रदेशको समग्र विकासका लागि ठोस योजना अघि सार्नुभएको छ । लुम्बिनी प्रदेशका सांसदहरूसँग भएको छलफलमा उहाँले पाल्पासहित समग्र प्रदेशका पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनसँग सम्बन्धित महत्वपूर्ण योजनाहरू पेश गरेको जानकारी दिनुभयो ।
सांसद रानाले विशेषगरी सडक पूर्वाधारलाई उच्च प्राथमिकतामा राख्दै रामपुर–आर्यभञ्ज्याङ–कपुरकोट सडकलाई शीघ्र सम्पन्न गर्न पर्याप्त बजेट विनियोजन गर्न माग गर्नुभएको छ । त्यस्तै, कालीगण्डकी करिडोर राजमार्गलाई भारत र चीन जोड्ने मुख्य वाणिज्य मार्गका रूपमा विकास गरी ट्रान्जिट लाभ लिन अधुरा खण्डहरू तत्काल सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ । सिद्धार्थ राजमार्गसँग जोडिने विभिन्न क्षेत्र समेटेर सांस्कृतिक पर्यटन रिङरोड निर्माणको प्रस्ताव पनि उहाँले अघि सार्नुभएको छ ।
पर्यटन प्रवद्र्धनतर्फ सांसद रानाले रम्भादेवी क्षेत्रको विकास, कालीगण्डकी सभ्यताको संरक्षण तथा ‘वैदिक स्मार्ट सिटी’ अवधारणालाई कार्यान्वयन गर्न आवश्यक नीति र बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । साथै तानसेनस्थित भगवती मन्दिरको जीर्णोद्धार गरी भगवती जात्रालाई राष्ट्रिय पर्वका रूपमा मान्यता दिनुपर्ने माग पनि गर्नुभएको छ ।
स्वास्थ्य क्षेत्रमा उहाँले रामपुर अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्न, विशेषज्ञ चिकित्सक र पर्याप्त जनशक्ति व्यवस्थापन गर्न तथा पालिकास्तरीय अस्पतालहरूमा अनिवार्य विशेषज्ञ सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ । शिक्षा क्षेत्रमा व्यवहारिक र सीपमूलक शिक्षा लागु गर्न तथा ग्रामीण क्याम्पसहरूको गुणस्तर अभिवृद्धिका लागि विशेष बजेट माग गर्नुभएको छ ।
कृषि तथा उद्योगतर्फ ‘एक वडा–एक कृषिबाली’ नीति लागू गरी रैथाने बाली संरक्षण गर्न, परम्परागत आरन, ढाका र करुवा उद्योगलाई पुनःस्थापना र प्रवद्र्धन गर्न प्रोत्साहनमूलक कार्यक्रम ल्याउनुपर्नेमा सांसद रानाको जोड छ । साथै लघु सामुदायिक विद्युत् प्रणालीलाई केन्द्रीय लाइनमा जोड्दै सबै घरमा विद्युत् पहुँच सुनिश्चित गर्नुपर्ने मागसमेत उहाँले राख्नुभएको छ ।
यसैगरी भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, विशेष आर्थिक क्षेत्रको प्रभावकारी कार्यान्वयन, कृषि मल कारखाना स्थापना, सीमावर्ती नाकाहरूको स्तरोन्नति तथा व्यापार सहजीकरणका विषय पनि सांसद रानाले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । उहाँका मागहरू कार्यान्वयन भएमा पाल्पासहित समग्र लुम्बिनी प्रदेशको आर्थिक, सामाजिक र पूर्वाधार विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास आमनागरिकले व्यक्त गरेका छन् ।







