
पाल्पा । पूर्वखोला गाउँपालिकाले ग्रामीण भेगका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले सञ्चालन गरेको वडागत निःशुल्क आँखा शिविर उत्साहजनक रूपमा सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा पाल्पा लायन्स लाकोल आँखा अस्पतालको प्राविधिक समन्वयमा चैत्र ९ गतेदेखि १८ गतेसम्म दुई चरणमा सञ्चालित शिविरबाट ६ वटै वडाका कुल एक हजार १२३ जना स्थानीय नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।
स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै वार्षिक रुपमा कार्यक्रम सञ्चालन गर्दै आएको पालिकले समयमा आँखा परीक्षण नगर्ने र सामान्य उपचारका लागि पनि सहर धाउनुपर्ने बाध्यताको अन्त्यका लागि निःशुल्क शिविर आयोजना गर्ने गरिएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो । उहाँले नागरिकको आर्थिक व्ययभार कम गर्न र समयको बचत गराउन घरदैलोमै विशेषज्ञ सेवा पु¥याइएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले स्थानीय सरकारको प्रत्यक्ष उपस्थितिलाई जनताले स्वास्थ्य सेवामार्फत महसुस गरेको बताउनुभयो । उहाँका अनुसार, यस शिविरले नागरिकको स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्दै उनीहरूको जीवनयापनमा सहजता थपेको बताउनुभयो ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले शिविरमा आँखा परीक्षणका क्रममा ९२ जनामा मोतियाविन्दु फेला परेको जानकारी दिनुभयो । उहाँहरुलाई पूर्ण अन्धोपनबाट जोगाउन चैत्र २४ र २५ निःशुल्क शल्यक्रिया शिविर ३ नं. वडामा रहेको रिङनेरह स्वास्थ्य चौकीमा मिलाइएको जानकारी दिनुभयो । यसरी गाउँमै आँखा परीक्षण भएपछि मोतियाविन्दु भएकाहरूले निःशुल्क शल्यक्रियामार्फत पुनः दृष्टि पाउने भएपछि खुसी भएका छन् । गाउँपालिकाले समयमै आँखा परीक्षण गराई सम्भाव्य अन्धोपन हटाउने वडातहमै अभियान सञ्चालन गर्दा आफूहरुलाई धेरै फाइदा पुगेको आमनागरिकको भनाइ छ । करूवा पत्रिकामा समाचार छ ।







