सामुदायिक रेडियो मदनपोखरा २७ औँ वर्षमा प्रवेश

पाल्पा । सामुदायिक रेडियो मदनपोखरा २६ वर्ष पूरा गरी २७ औँ वर्षमा प्रवेश गरेको अवसरमा रेडियोसँग आवद्ध व्यक्तित्वहरूले जनमुखी, सहभागितामूलक र विश्वसनीय सञ्चारलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रेडियो सञ्चालक समिति अध्यक्ष राजेशकुमार अर्यालले रेडियोको स्थापना र विकास यात्रालाई स्मरण गर्दै दक्षिण एशियाकै पहिलो गाउँले सामुदायिक रेडियोका रूपमा मदनपोखराले ऐतिहासिक भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँका अनुसार २०५२ सालदेखि सुरु भएको पहलले २०५५ मा इजाजतपत्र प्राप्त गरी २०५६ चैत २३ गतेदेखि नियमित प्रसारण सुरु गरेसँगै स्थानीय स्तरमा सूचना पहुँच विस्तार भएको थियो ।

सामुदायिक रेडियो केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई जनताको आवाजलाई जनतामै फर्काउने सशक्त अभियान भएको अध्यक्ष अर्यालको भनाइ छ । “पहिले सूचना माथिबाट तल झर्ने सीमित संरचनामा थियो, तर सामुदायिक रेडियोले जनतालाई नै सूचना सर्जक, प्रसारक र संरक्षक बनाएको छ,” उहाँले भन्नुभयो ।

रेडियोका स्टेशन प्रबन्धक विरेन्द्र घिमिरेले डिजिटल युगसँगै सञ्चारको स्वरूप तीव्र रूपमा बदलिँदै गएको अवस्थामा सामुदायिक रेडियोको भूमिका झन् महत्वपूर्ण बनेको बताउनुभयो । उहाँले विश्वसनीय सूचना प्रवाह, स्थानीय पहिचानको संरक्षण र जनसहभागिताको प्रवद्र्धनमा रेडियोको योगदान अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । रेडियोलाई डिजिटल रूपान्तरणसँग जोड्दै श्रोताको बदलिँदो रुचिअनुसार कार्यक्रमको ढाँचा सुधार गर्दै गुणस्तरीय सामग्री उत्पादन गर्नु आजको आवश्यकता रहेको स्टेशन प्रबन्धक घिमिरेको भनाइ छ ।

नयाँ वर्ष प्रवेशको अवसरमा रेडियोले श्रोता, संस्थापक, सञ्चालक, अभियन्ता तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी र जनउत्तरदायी सञ्चार अभियानलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ । सोही अवसरमा नयाँ वर्ष २०८३ को भित्तेपात्रो विमोचन समेत गरिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय