
पाल्पा । निस्दी गाउँपालिकाको आयोजनामा ६९ औँ सहकारी दिवसमा गाउँपालिका भित्र उत्कृष्ट कार्यसम्पादन गर्ने तीन सहकारी संस्थालाई नगदसहित सम्मान गरिएको छ ।
शुक्रबार गाउँपालिकामा “सहकारीमार्फत समृद्धि” भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा सहकारीको योगदान, प्रभावकारिता र स्थानीय आर्थिक सुदृढीकरणमा खेलेको भूमिकालाई मूल्याँकन गरी सहकारीलाई सम्मान गरिएको हो ।
जसमा प्रथम हुने गल्धा सामाजिक उद्यमी महिला सहकारी (वडा नं. ५) लाई २५ हजार रुपैयाँ, दोस्रो हुने देउराली सामुदायिक विकास बहुउद्देश्यीय सहकारी (वडा नं. ६) लाई १५ हजार रुपैयाँ र तेस्रो हुने गाउँबेसि बचत तथा ऋण सहकारी संस्था (वडा नं. ४) लाई १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको हो ।
कार्यक्रमका गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले सहकारी संस्थाहरू ग्रामीण अर्थतन्त्र सुदृढ पार्ने महत्वपूर्ण आधार भएको बताउनुभयो । उहाँले सहकारीमार्फत उत्पादन, रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न सकिने उल्लेख गर्दै पारदर्शी र उत्तरदायी सहकारी सञ्चालनमा जोड दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर चितौरेले सहकारी दिवस मनाउनुको उद्देश्य सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई व्यवहारमा लागू गर्दै संस्थागत सुदृढीकरण गर्नु रहेको बताउनुभयो । उहाँले सहकारीहरूलाई दिगो विकासको सहयात्रीका रूपमा अघि बढ्न आग्रह गर्नुभयो ।
गाउँपालिका प्रवक्ता मेखबहादुर सुनारीले सहकारीहरूले स्थानीयस्तरमा पूँजी परिचालन र सामाजिक एकता मजबुत बनाएको धारणा राख्नुभयो । वडाध्यक्ष नबिन्द्र थापा तथा सहकारी अभियन्ता नरबहादुर सुनारीले सहकारीलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउन आवश्यक नीति तथा सहकार्यमा जोड दिनुभएको सहकारी शाखा प्रमुख कुस्माखर पाण्डेले जानकारी दिनुभयो ।







