माथागढीमा कृषि तथा पशुपन्छी सेवा शिविर, किसानलाई प्रत्यक्ष राहत

पाल्पा । माथागढी गाउँपालिकामा कृषि तथा पशुपन्छी सेवा सम्बन्धी एक दिने शिविर २ नं. वडाको दद्रामा सम्पन्न भएको छ । शिविरबाट स्थानीय किसानलाई प्रत्यक्ष रूपमा लाभ पु¥याएको गाउँपालिकाले जनाएको छ ।

शिविरमा गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले किसानलाई आत्मनिर्भर र व्यावसायिक बनाउन पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले कृषकलाई समयसापेक्ष तालिम, उन्नत बीउबिजन तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गर्दै शिविरले कृषकको उत्पादन वृद्धि र आम्दानी बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । “कृषिमा आधुनिकीकरण र व्यवसायीकरण बिना आर्थिक समृद्धि सम्भव छैन, त्यसैले पालिका किसानमैत्री कार्यक्रमलाई प्राथमिकतामा राख्दै अघि बढेको छ,” अध्यक्षले भन्नुभयो ।

वडा नं. २ का वडाध्यक्ष बोमबहादुर ठाडाले कृषकको आवश्यकता र समस्यालाई नजिकबाट बुझ्न तथा तत्काल समाधान दिनकै लागि शिविर आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार यस्ता कार्यक्रमले किसानलाई सेवा लिन टाढा धाउनुपर्ने बाध्यता हटाउने र समय तथा लागत दुबै बचत गर्ने भएकाले प्रभावकारी भएको बताउनुभयो ।

शिविरमा कृषि शाखाका प्रमुख शशी बिष्ट तथा पशु सेवा शाखाका प्रमुख विक्रम गरम्जा मगरसहितको प्राविधिक टोलीले निःशुल्क माटो परीक्षण, गोबर परीक्षण, बाली तथा पशु रोग सम्बन्धी परामर्श सेवा उपलब्ध गराउनुभएको थियो । साथै आवश्यक कृषि तथा पशु औषधि पनि निःशुल्क वितरण गरिएको थियो । शिविरले कृषि उपज र पशुपालनका विषयमा रोग व्यवस्थापन, उत्पादन वृद्धि तथा पशुपालनमा सुधार ल्याउन सहयोग पुगेको शिविरमा सहभागी कृषकको भनाइ छ ।

वडा नं. २ र ३ का किसानलाई लक्षित गरी सञ्चालन गरिएको शिविरबाट करिब ९० जना कृषक लाभान्वित भएका छन् । शिविरमा सहभागी किसानहरूले घरदैलोमै प्राविधिक सेवा पाउँदा सहजता भएको र खर्च बचत हुँदा नागरिक खुसी भएका छन् ।

ग्रामीण क्षेत्रमा कृषि उत्पादन वृद्धि, पशुपालनको गुणस्तर सुधार तथा किसानको आयआर्जन बढाउने अपेक्षा सहित शिविर संचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बताउनुभयो । स्थानीय सरकारले सेवामूलक कार्यक्रमलाई निरन्तरता दिएर कृषिबाट आत्मनिर्भरता हासिल गर्न उद्देश्यले प्राथमिकताका साथ कार्यक्रम संचालन गरिरहेको उहाँको भनाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय