
पाल्पा। रैनादेवी छहरा गाउँपालिकामा गृहिणीहरूको क्षमता अभिवृद्धि गर्दै स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यका साथ दुई दिने ‘भान्सा सुधार कार्यक्रम’ सम्पन्न भएको छ । पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र, तानसेनको आयोजनामा सम्पन्न कार्यक्रमले स्थानीय गृहिणीहरूमा सरसफाई, पोषण र स्वास्थ्यसम्बन्धी व्यावहारिक ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीले बताएका छन् । समाजमा जीवनशैली र खानपानका कारण नसर्ने रोगहरूको जोखिम बढिरहेका बेला भान्साबाटै स्वास्थ्य सुधारको जग बसाल्नुपर्ने सचेतना जगाउन तालिम आयोजना गरिएको आयोजकको भनाइ थियो ।
कार्यक्रममा डा. रोमहर्ष नेपाल, डा. हौसला धिताल र डा. शिशिर पटेल लगायतले भान्सामा खाना पकाउँदा अपनाउनुपर्ने स्वच्छता, सुरक्षित पिउने पानीको प्रयोग, र व्यक्तिगत सरसफाइबारेमा सहजीकरण गर्नुभएको थियो । भान्सा सुधार कार्यक्रमको प्रमुख फाइदा भनेकै खानपानको माध्यमबाट रोग प्रतिरोधात्मक क्षमता बढाउनु र भान्सालाई नै प्राथमिक औषधालयको रूपमा विकास गर्नु रहेको उहाँहरुले बताउनुभयो हो ।
कार्यक्रमका सहभागी गृहिणीले आफूहरुले सधैँ खाना त पकाउँथ्यौँ, तर पोषक तत्व नमर्ने गरी कसरी पकाउने र भान्साको फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने कुरा यसअघि थाहा थिएन, यो तालिमले हाम्रो आँखा खोलिदिएको बताउनुभयो
समापन समारोहमा गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराईले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न आग्रह गर्दै भन्नुभयो, “भान्सा सफा हुनु र गृहिणी शिक्षित हुनु नै स्वस्थ खानपानको आधार हो, जसले समुन्नत समाज निर्माणमा मद्दत गर्दछ ।“ विशेष गरी स्थानीयस्तरमा उपलब्ध मौसमी सागसब्जी र खाद्यान्नको सही प्रयोग गर्ने, अत्यधिक चिल्लो र मसला न्यूनीकरण गर्ने तथा खाना पकाउने ठाउँको नियमित निर्मलीकरण गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने अध्यक्ष भट्टराईको भनाइ थियो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल, पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख माधव प्रसाद बस्याल, जिल्ला समन्वय समिति सदस्य विष्णु घिमिरे र वडा अध्यक्ष गोविन्द रायमाझी लगायतले भान्सा सुधारलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । यस किसिमको सचेतनाले ग्रामीण भेगमा व्याप्त रहेका महामारीजन्य संक्रामक रोगहरू कम गर्न र परिवारको स्वास्थ्य खर्च घटाउन समेत दीर्घकालीन सहयोग पुग्ने उहाँहरुले विश्वास व्यक्त गर्नुभयो ।







