
पाल्पा । जिल्लाका बालबालिकाको शारीरिक तथा मानसिक विकासलाई लक्षित गर्दै शनिबारदेखि ‘स्वर्णविन्दु प्राशन’ कार्यक्रम सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारको सहयोगमा पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र, पाल्पाको आयोजनामा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरूलाई यो आयुर्वेदिक औषधि खुवाउन सुरु गरिएको हो ।
कार्यक्रमको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले स्वर्णविन्दु प्राशन नियमित रूपमा सेवन गर्दा बालबालिकाको बुद्धि, बल र आयुमा वृद्धि हुने बताउनुभयो । उहाँले स्वर्णविन्दु प्राशन केवल औषधि मात्र नभई बालबालिकाको स्मरण शक्ति बढाउने, रोग प्रतिरोधात्मक क्षमता सुदृढ गर्ने र सर्वाङ्गिण विकासका लागि एक प्रभावकारी माध्यम रहेको बताउनुभयो । प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यस्ता रैथाने र वैज्ञानिक आयुर्वेद विधिलाई घर–घर पु¥याउने लक्ष्य राखेको मन्त्री सारुको भनाइ छ । उहाँले यस कार्यक्रमको प्रभावकारितालाई ध्यानमा राखेर आफ्ना बालबालिकालाई सहभागी गराउन अभिभावकहरूलाई आग्रह समेत गर्नुभयो ।
स्वर्णविन्दु प्राशन एक प्राचीन आयुर्वेदिक पद्धति हो । जसमा शुद्ध सुनको भष्म, मह र घिउको समिश्रणका साथै विभिन्न जडीबुटीहरूको प्रयोग गरिएको हुन्छ । पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र पाल्पाका प्रमुख माधव बस्यालका अनुसार यो औषधि प्रत्येक २७ दिनको अन्तरालमा (पुष्य नक्षत्रको अवसर पारेर) लगातार ३० पटकसम्म खुवाउनुपर्छ । यसले बालबालिकाको पाचन प्रणालीमा सुधार ल्याउनुका साथै बारम्बार बिरामी हुने समस्यालाई कम गर्छ ।
कार्यक्रमको पहिलो दिन बालबालिकालाई औषधि खुवाउन अभिभावकहरूको उल्लेख्य र उत्साहजनक सहभागिता देखिएको थियो । पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिकी अध्यक्ष लक्ष्मी दुंगानाले कार्यक्रमको प्रभावकारीता बुझेर आफ्ना बालबालिकालाई औषधि खुवाउन ल्याउनु भएका सबै अभिभावक प्रति धन्यवाद व्यक्त गर्नुभयो । यसका साथै उहाँले समुदायको यो विश्वासले आफूहरूलाई थप जिम्मेवार बनाएको र आगामी दिनमा थप प्रभावकारी रुपमा सेवा उपलब्ध गराउने बताउनुभयो ।
कार्यक्रममा ठुलो संख्यामा अभिभावक र बालबालिकाको उपस्थिति हुँदा व्यवस्थापकीय पक्षमा केही चापका कारण समस्या भएको अभिभावकहरुले गुनासो गरेका थिए । उनीहरुले प्रदेश सरकारले आयुर्वेदिक उपचार पद्धतिप्रति देखाएको सक्रियताको प्रशंसा गर्दै सेवा प्रवाहलाई थप सहज बनाउनुपर्ने विषयमा सुझाव राखेका थिए ।








