
पाल्पा । आगामी शनिबार हुने उद्योग वाणिज्य संघको निर्वाचनमा निर्वतमान अध्यक्ष सैलेन्द्र भट्टराई र महासचिव समीरमान सिंहले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । चैत्र १४ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा दुई जनाको मनोनयन दर्ता भएपछि प्रतिष्पर्धा हुने निश्चित भएको हो ।
मंगलबार प्रकाशित अन्तिम नामावली अनुसार अध्यक्षमा भट्टराई र सिंहको उम्मेदवार कायम छ । जसले गर्दा यस अघिको कार्यसमितिमा अध्यक्ष र सचिव रहनुभएका भट्टराई र सिंह बीच हुन लागेको प्रतिस्पर्धा निबै रोचक हुने देखिएको छ । मनोनयन दर्ता संगै मत माग्न उम्मेदवारहरु सदस्यहरुको घरदैलोमा पुगेका छन् । निर्वाचन समितिका अनुसार निर्वाचनमा संघका एक हजार २९४ जना साधारण सदस्यले मतदान गर्न पाउनेछन् ।
यस्तैगरी वाणिज्य उपाध्यक्ष पदमा रञ्जनाकुमारी थापा अर्याल र सुरेन्द्र कर्माचार्यबीच प्रतिस्पर्धा हुने भएको छ भने उद्योग उपाध्यक्षमा मुक्तिराम जिसीको एकल उम्मेदवारी परेकोले निर्विरोध हुनुभएको छ । २२ सदस्य पदका लागि ३१ जनाको उम्मेदवारी दर्ता भएको छ । जसले निर्वाचनलाई थप प्रतिस्पर्धात्मक बनाउने देखिएको छ ।
सदस्यता विवादका कारण समयमा नेतृत्व चयन हुन नसकेको संघ अब निर्वाचनमार्फत नयाँ नेतृत्व पाउने तयारीमा छ । उद्योगी–व्यवसायीहरू भने नयाँ नेतृत्वले संघको मूल उद्देश्यअनुसार काम गर्दै व्यवसायीको समस्या समाधान, बजार व्यवस्थापन र नीति सुधारमा प्रभावकारी भूमिका खेल्ने अपेक्षामा छन् ।
पछिल्लो समय संघप्रति उठेका प्रश्न र गुनासोहरूलाई सम्बोधन गर्दै नयाँ नेतृत्वले विश्वास पुनःस्थापित गर्नुपर्ने चुनौती पनि उत्तिकै रहेको सरोकारवालाको भनाइ छ । त्यसैले यसपटकको निर्वाचन केवल नेतृत्व चयन मात्र नभई संघको प्रभावकारिता र विश्वसनीयता पुनःस्थापित गर्ने अवसरका रूपमा समेत हेरिएको छ ।
उद्योग वाणिज्य संघ निजी क्षेत्रको प्रतिनिधित्व गर्ने, उद्योगी–व्यवसायीको हकहित संरक्षण गर्ने तथा स्थानीय आर्थिक गतिविधि सुदृढ बनाउने उद्देश्यले स्थापना गरिएको संस्था हो । व्यापार प्रवद्र्धन, नीति वकालत, व्यवसायिक वातावरण सुधार र उद्यमशीलता विकास यसको मुख्य लक्ष्य मानिन्छ । तर पछिल्लो समय यस्ता संस्थाले आफ्नो मूल उद्देश्य अनुसार प्रभावकारी काम गर्न नसकेको गुनासो उद्योगी–व्यवसायीहरूबाट उठ्दै आएको छ ।







