पाल्पामा बढ्दो क्षयरोगको चुनौती

पाल्पा । जिल्लामा सरकारी तथा स्थानीय स्तरबाट विभिन्न अभियान सञ्चालन गरिए तापनि क्षयरोगको जोखिम न्यूनीकरण हुन सकेको छैन । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लाका विभिन्न स्थानमा हरेक वर्ष क्षयरोगीको संख्या बढ्दो क्रममा रहेको छ । चालू आर्थिक वर्षको हालसम्म मात्रै जिल्लाभर १६७ जनामा क्षयरोग पुष्टि भइसकेको छ भने संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा ४ हजार ८३४ जनाको परीक्षण गर्दा ३२२ जनामा संक्रमण देखिएको थियो भने २५ जनाले ज्यान गुमाएका थिए ।

स्वास्थ्य कार्यालय पाल्पाले विश्व क्षयरोग दिवसका अवसरमा पाल्पाली पत्रकारहरुसंग राखिएको अन्तरक्रियामा कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले जिल्लाका १० पालिकामध्ये तानसेन नगरपालिकामा सबैभन्दा धेरै संक्रमित रहेको बताउनुभयो । उहाँका अनुसार अन्य पालिकाहरूमा रामपुरमा २०, पूर्वखोलामा १९, निस्दीमा १८, बगनासकालीमा १७, रैनादेवी छहरामा १५, तिनाउमा १३, रिव्दीकोटमा ११, माथागढीमा १० र रम्भामा ९ जनामा संक्रमण देखिएको छ । विशेषगरी ४ वर्षमुनिका बालबालिकामा समेत संक्रमण देखिनु चिन्ताको विषय बनेको छ; यस वर्ष मात्रै ३ जना बालबालिकामा क्षयरोग पुष्टि भएको छ ।

क्षयरोग मुख्य गरी ‘माइकोब्याक्टेरियम ट्युबरकुलोसिस’ नामक कीटाणुका कारण लाग्ने सरुवा रोग हो । दुई हप्ताभन्दा बढी समयसम्म खोकी लाग्नु, साँझपख ज्वरो आउनु, राति पसिना आउनु, तौल घट्नु र खकारमा रगत देखिनु यसका मुख्य लक्षण रहेको स्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले बताउनुभयो । पाल्पामा संक्रमितमध्ये ९० प्रतिशतभन्दा बढी उपचारपछि निको हुने गरेका छन् । यद्यपि, करिब २ प्रतिशत बिरामीले नियमित औषधि सेवन नगर्दा रोग पूर्ण रूपमा निको हुन सकेको छैन । हाल जिल्लाका १० वटै स्थानीय तहले खोजपड्ताल र निगरानीसहित उपचारका कार्यक्रम सञ्चालन गरिरहेका छन् । रोगबाट बच्न लक्षण देखिनासाथ खकार जाँच गराउने, संक्रमितले खोक्दा वा हाच्छ्युँ गर्दा सावधानी अपनाउने र चिकित्सकको सल्लाह बमोजिम नियमित औषधि सेवन गर्नु नै प्रमुख उपाय रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

सम्बन्धित खवर