माटोबाट उब्जिएको हितङ्गाको सफलता

पाल्पा । जीवन निर्वाहकै लागि संघर्ष गर्नुपर्ने अवस्थाबाट सुरु भएको कृष्णबहादुर हितङ्गाको यात्रा आज सफलताको उदाहरणमा परिणत भएको छ । तानसेन नगरपालिका ८ नं. वडा, अँधेरीका कृषक हितङ्गा अहिले कृषि कर्मबाटै आर्थिक तथा सामाजिक रूपमा सबल बन्नुभएको छ । विगत चार दशकदेखि निरन्तर माटोसँग जोडिएर श्रम गर्दै आउनुभएका हितङ्गाले खेतीकै आम्दानीबाट आफ्ना तीन छोरीलाई उच्च शिक्षा (डिग्री) सम्म अध्ययन गराएर स्थानीय समाजमा प्रेरणादायी सन्देश दिन सफल बन्नुभएको छ ।

कुनै समय दैनिक गुजारा चलाउन समेत कठिन हुने अवस्था भोग्नुभएका हितङ्गा अहिले भने आफ्नो १८ रोपनी जग्गामा फैलिएको सुन्तला बगैंचाबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । करिब ४ सय बोट सुन्तलाबाट उहाँले वार्षिक रूपमा राम्रो आम्दानी लिने सफल हुनुहुन्छ । “सुरुमा निकै गाह्रो थियो, तर कहिल्यै हिम्मत हारिनँ,” उहाँले विगत सम्झिँदै भननुभयो, “जस्तोसुकै काम गर्न पनि लाज मानिनँ, दुःखलाई नै साथ बनाएँ, आज त्यसैको परिणाम देखिरहेको छ ु।”

उहाँको सफलताको यात्रामा श्रीमती शान्ति हितङ्गाको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । दुवैजनाले मिलेर खेतबारीमा पसिना बगाउँदै सुन्तला खेतीसँगै वर्षे र हिउँदे बाली उत्पादन गर्दै आउनुभएको छ । यही कृषि कर्म नै उहाँहरूको परिवार धान्ने र सन्तानको भविष्य निर्माण गर्ने मुख्य आधार बनेको हो । हितङ्गा दम्पत्तिको जीवनमा सबैभन्दा ठूलो उपलब्धि भनेको सन्तानको शिक्षा हो । सीमित स्रोत–साधनका बीच पनि उहाँले तीनै छोरीलाई स्नातक तहसम्म अध्ययन गराउन सफल हुनुभयो । “छोराछोरी पढाउन धेरै दुःख गर्नुप¥यो, तर अहिले त्यो संघर्ष सम्झिँदा सन्तोष लाग्छ,” उहाँले भन्नुभयो । हाल तीनै जना छोरीहरूको विवाह भइसकेको छ भने छोराले बुटवलमा मोबाइल मर्मत व्यवसाय सञ्चालन गरिरहेका छन् ।

कृषिबाटै परिवारलाई आत्मनिर्भर बनाउँदै सन्तानलाई शिक्षित बनाउन सफल हितङ्गाको सफलता गौरवको विषय बनेको तानसेन ८ नं. वडाका वडाध्यक्ष सोमनाथ अर्यालले बताउनुहुन्छ । उहाँका अनुसार हितङ्गा दम्पत्ति नगरकै उदाहरणीय कृषक हुन् । “उहाँहरूको मेहनत, लगनशीलता र कृषि प्रतिको समर्पण अन्यका लागि पनि प्रेरणाको स्रोत बनेको छ,” उहाँको भनाइ छ ।

पछिल्लो समय युवाहरू वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका बेला हितङ्गाको अनुभवले आफ्नै गाउँठाउँमा पनि सम्भावना रहेको सन्देश दिन्छ । कृषि क्षेत्रमा लगानी, मेहनत र धैर्य राख्न सके राम्रो आम्दानी गर्न सकिने उहाँहरुको विश्वास छ । “कृषि काममा फाइदा छ, म यसैमा पूर्ण सन्तुष्ट छु,” उहाँले भन्नुभयो ।

स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनको सदुपयोग गर्दै निरन्तर मेहनत गरे सफलता टाढा नहुने हितङ्गाको अनुभव छ । उहाँले देखाएको बाटोले कृषिलाई सम्मानजनक पेशाका रूपमा स्थापित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । माटोसँगको सम्बन्धलाई निरन्तरता दिँदै उहाँले आफ्नो जीवन परिवर्तन गर्दै समाजलाई समेत सकारात्मक सन्देश दिन सफल बन्नुभएको छ । करुवा पत्रिकाबाट

सम्बन्धित खवर