पाल्पा । तानसेन नगरपालिकाले दायित्व संस्थासंगको सहकार्यमा संचालन गरेको “वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन कार्यक्रम” अन्तर्गत उत्कृष्ट ४० तानसेन उद्यमी घोषणा गरको छ । शुक्रबार एक कार्यक्रमा आयोजना गरी स्थानीय उद्यमशीलता प्रवद्र्धनलाई थप गति दिने उद्देश्यले संचालिन कार्यक्रममा छनोट भएका उद्यमी घोषणासहित उनीहरुलाई सम्मान गरिएको हो । जसमा कृषि, पर्यटन, हस्तकला, सेवा तथा उत्पादनमूलक क्षेत्रमा क्रियाशील उद्यमीहरू रहेका छन् ।
नगरपालिकाका १४ वडाबाट प्राप्त एक सय ११ उद्यमीको आवेदनमध्ये छनोटमा परेका ४० उद्यमीलाई दुई दिने व्यवसायिक योजना निर्माण तालिम समेत दिइएको छ । उद्यमीहरूको ज्ञान, शीप र आत्मविश्वास वृद्धिसंगै उद्यम मानसिकता, उद्यम व्यवस्थापन र वित्तीय ज्ञानका लागि तालिम दिइएको तानसेन नगरपालिकाका वरिष्ठ अधिकृत दुर्गाबहादुर थापाले बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख सन्तोषलाल श्रेष्ठले उद्यमशीलता नै समृद्ध नगर निर्माणको मेरुदण्ड भएको बताउनुभयो । उहाँले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नु आजको आवश्यकता रहेको र त्यसका लागि उद्यमशीलता सबैभन्दा प्रभावकारी माध्यम भएको बताउनुभयो । सीप विकास, लगानी सहजीकरण र बजार पहुँच विस्तारमार्फत उद्यमीहरूलाई थप सशक्त बनाउने विषयमा नगरपालिका प्रतिबद्ध रहेको नगरप्रमुख श्रेष्ठको भनाइ थियो ।
उपप्रमुख प्रतीक्षा सिंजालीले कार्यक्रममा महिलाको उल्लेखनीय सहभागितालाई सकारात्मक संकेतका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले महिला उद्यमशीलता प्रवद्र्धनमा नगरपालिकाले विशेष प्राथमिकता दिएको बताउदै उद्यमशीलताले नै नागरिकको जीवनस्तरमा सकारात्मक सुधार ल्याउने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले उद्यमीहरूलाई स्थानीय अर्थतन्त्रका प्रमुख चालकका रूपमा रहेको बताउनुभयो । उहाँले सोही भूमिकालाई थप मजबुत बनाउन तानसेन नगरपालिकाले साझेदार संस्थासंगको सहकार्यमा उद्यमीहरुको छनोट र क्षमता विकासका साथै आर्थिक सहयोग समेत गर्ने गरी कार्यक्रम संचालन गरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा तानसेन १ का वडाध्यक्ष सुनिल बस्याल, उद्यमी सुनिता राणा, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई र पाल्पा व्यापार संघका अध्यक्ष विष्णुबहादुर कार्कीले छनोटमा पर्न सफल ४० उद्यमीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नगरपालिकाले उद्यमशीलताको विकास, बजार विस्तार र नीतिगत सहजीकरणमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रम अधिकृत अस्मिता क्षेत्रीका अनुसार कार्यक्रमले सीप, पूँजी र बजार पहुँच विस्तारमार्फत उद्यमीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको बताउनुभयो । उहाँले अब कार्यक्रम अन्तरगत उत्कृष्ट २० उद्यमीको घोषणा तथा उहाँहरुको व्यवस्थापन, प्रबिधि र बजार पहुँचमा सुधार, दश उध्यमहरुको उत्पादन क्षमता र आयमा वृद्दिसंगै अन्तिममा उत्कृष्ट एक तानसेन उद्यमीको घोषणा गरिने जानकारी दिनुभयो । करुवा पत्रिकाबाट







