पाल्पा । तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर एक भारतीय युवकको मृत्यु भएको छ भने अर्का एक अझै बेपत्ता रहेका छन् ।
आइतबार दिउँसो करिब २ बजेतिर भारतबाट घुम्न आएका ७ जना युवामध्ये नुहाउने क्रममा २ जना युवा तिनाउ खोलामा बेपत्ता भएका थिए । बेपत्ता हुनेहरुमा भारत उत्तर प्रदेशस्थित सन्तकबिर नगरका १७ वर्षीय फहरान अन्सारी र अमान अन्सारी रहेका थिए ।
प्रहरीका अनुसार चैत ९ गते बिहान करिब १० बजे डुबेको स्थानभन्दा करिब एक सय मिटर तल फहरान अन्सारीको शव फेला परेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी होम प्रकाश चौधरीले जानकारी दिनुभयो । अर्का बेपत्ता युवक अमान अन्सारीको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







