
निस्दी गाउँपालिका ६ नं. वडा अर्चलेमा अर्धवार्षिक सार्वजनिक सुनुवाइ तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । अर्चलेका वडा अध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव मीन बहादुर रानाले आर्थिक वर्ष २०८२÷०८३ को आर्थिक तथा प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीले निस्दीमा बालविवाहको समस्या, शैक्षिक गुणस्तर, बिजुली, यातायात, खानेपानीसँग सम्बन्धित जिज्ञासा राखेका थिए । यसैबीच मोटरबाटो स्तरोन्नति, स्थानीय उत्पादनको बजारीकरण तथा प्रोत्साहन, सेवाग्राहीलाई दिनुपर्ने सेवा सुबिधा बारे जिज्ञासा राख्नुभएको थियो । सहभागीहरुले काम धेरै हुने तर मूल्यांकन कम आउने गरेको, वास्तविक नाप र मूल्यांकनको नापजाँचमा फरक परेको, उपभोक्ता समिति र टेण्डर मार्फत गर्ने योजनामा फरक किन लगायतका जिज्ञासा राखेका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले सार्वजनिक खरिद ऐन र स्थानीय सरकार सञ्चालन ऐन अनुसार कार्य सन्चालन गर्दा उपभोक्तालाई सास्ती भएको महसुस आफूले पनि गरेको बताउनुभयो । उहाँले टेण्डर मार्फत सञ्चालन भएका योजनाहरुले निस्दीमा चित्त बुझ्दो कार्य नगरेकोमा चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रम गाउँपालिका उपाध्यक्ष तीरन कुमारी श्रेष्ठले आफू योजना तथा कार्यक्रमको अनुगमन समितिको संयोजक भएकोले कार्य स्थलमा पुगेर आवश्यक सल्लाह सुझाव दिदैं आइरहेको बताउनुभयो । उहाँले महिला सशक्तीकरणका लागि स्वयं महिलाहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर चितौरेले निस्दीमा आएपछि सम्पन्न हुन नसकेका योजनाहरु बारे जानकारी लिने कार्य जारी रहेको बताउनुभयो । उहाँले गाउँपालिका स्तरमा सञ्चालन गरिने सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय जनताहरु उपस्थित हुन समस्या देखिएको वडामै सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रम सहभागीले राखेका जिज्ञासा, गुनासो र सुझाव बारे सम्बन्धित शाखाका प्रमुखहरुले जवाफ दिनुभएको थियो ।
वडा अध्यक्ष मेख बहादुर सुनारीले जिज्ञासा तथा सुझावका विषयमा सम्बोधन गर्दै वडाले परिणाम आउने खालको काम गरिएको बताउदै सुधार गर्नुपर्ने विषयमा तत्काल जानकारी दिन आग्रह समेत गनुृभयो ।







