सकियो तिन्टीआँपको कृषि मेला प्रदर्शनी

पाल्पा । तानसेन ९ नं. वडाको तिन्टीआँपमा किसानको कृषि मेला प्रदर्शनी सकिएको छ । “कृषि उत्पादन बढाऔं परनिर्भरताको अन्त गरौं” भन्ने नाराका साथ चौथो कृषि मेला प्रर्दशनी भएको हो ।

कृषि व्यवसाय, कृषि उद्यम र कृषि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा तानसेन नगरपालिका वडा नं ९ वडाको प्रवद्र्धनमा कृषि मेला भएको हो ।

प्रदर्शनीमा किसानले उत्पादन गरेका विभिन्न कृषि उपज स्टलमा प्रदर्शनी तथा विक्रीका लागि राखिएको थियो । जसमा खाद्यान्न, तरकारी , फलफूल, दलहन, तिलहनका सामाग्री, केरा, तरुल, फर्सी, मकै, धान, पिँडालु, विभिन्न प्रजातिका विरुवा, घरेलु कृषि औजार रहेको मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष घनश्याम घिमिरेले बताउनुभयो । उहाँले यसका साथै कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले माटो परीक्षण र बाली उपचार शिविरबाट कृषकलाई सेवा दिएको बताउनुभयो ।

तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले कृषि प्रदर्शनीले किसानको श्रमलाई सम्मान गर्न मद्दत पु¥याउने बताउनुभयो । उहाँले किसानले आफूले उत्पादन गरेको वस्तुको उचित मूल्य प्राप्त गर्नका लागि यस प्रकारका कार्याक्रम आवश्यक रहेको बताउनुभयो । कृषि क्षेत्रमा मदनपोखराले देशमै भिन्न पहिचान बनाउन सफल रहेको बताउँदै नगर प्रमुख श्रेष्ठले कृषि र पर्यटन विकासमा नगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो ।

तानसेन ९ का वडाध्यक्ष राजेशकुमार अर्यालले किसानको मेहनतलाई सम्मान गर्न र थप उत्साहित बनाउन वार्षिक रुपमा कृषि प्रदर्शनी मेला आयोजना गर्ने गरिएको बताउनुभयो । उहाँले मेहनती, परिश्रमी, स्वालम्बी र पौरखी मदनपोखराका किसानको पौरख देशभर फैलाउन, अरुलाई कृषि कर्ममा विश्वास जगाउन र स्थानीय सरकारलाई कृषिका मर्का सुनाउन र सम्बोधनका लागि समन्वय गर्न प्रर्दशनीले सघाउने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा मदनपोखरामा कृषि क्षेत्रमा अमूल्य योगदान पु¥याउनु भएका पदमराज पौडेल, तुल्सीदेवी गैरे, हरिश्चन्द्र भुसाल, चिन्तामणि पंगेनी, दामोदर घर्ती, शुक्रबहादुर बौडेल र रामबहादुर कुमाललाई सम्मान गरिएको सहकारीका सचिव छविलाल भट्टराईले जानकारी दिनुभयो ।

प्रदर्शनीमा टोल विकास समूहहरुको झाँकी प्रदर्शन, साँस्कृतिक कार्यक्रम तथा कलाकार शिरीष देवकोटा र हास्यकलाकार पूर्खे बाले प्रस्तुति राख्नुभएको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले कृषि प्रदर्शनीले कृषिकहरुको उत्पादनको बजारीकरणमा मद्दत गर्ने बताउनुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय